अब गंगामा होइन चन्द्रमामा हुनेछ अस्तुको विसर्जन

२०७२ भदौ २७ गते ८:४८ मा प्रकाशित

पृथ्वीको उपग्रह चन्द्रमालाई हिन्दुहरुले साक्षात देवता मानेर पुजा गर्छन्, जल अघ्र्य चढाउँछन् । विज्ञानले सम्भव तुल्याइसकेको मानिसको चन्द्रयात्राको विषय हिन्दु धर्मशास्त्रले कल्पना पनि गरेको छैन । त्यसैले जिउँदो छउन्जेल चन्द्रमा लगायतका देवताको पुजा गर्ने अनि मरिसकेपछि गंगामा (अर्थात् कुनै नदी वा खोला) लगेर अस्तु विसर्जन गर्ने संस्कार छ हाम्रो । तर अब भने गंगामा मात्र होइन चन्द्रमामै लगेर मृतकको अस्तु विसर्जन गर्न पाउने दिन आउँदैछ । 

अन्तिम सास लिएपछि स्वर्गमा गइन्छ वा नर्कमा त्यो त कसैलाई पनि थाहा छैन । तर यदि आफ्नो अस्तुलाई ‘चन्द्र बैकुण्ठ’ मा पठाउनेे अन्तिम इच्छा राख्नुहुन्छ भने त्यो पूरा हुनसक्छ । तर त्यसको लागि तपाइँले १२ लाख रुपैयाँ खर्चिनुपर्नेछ । अमेरिकाको एक कम्पनीले चन्द्रमामा अस्तु विसर्जन गर्ने सेवा सुरु गरेको छ । एलिजियम स्पेस नामको कम्पनीले १२ हजार डलर अर्थात् झण्डै १२ लाख रुपैयाँ शुल्क लिएर चन्द्रमामा अस्तु पठाइदिने सेवा सुरु गरेको लाइफसाइन्सले जनाएको छ ।

 अमेरिकी अन्तरीक्ष संस्था नासाका पूर्व इन्जिनियर थोमस किविटले स्थापना गरेको कम्पनी एलिजियम स्पेसको नेपाली अर्थ हुन्छ बैकुण्ठवास । साँच्चीकै चन्द्रमामा अस्तु विसर्जन गराएर यसले मानव आत्मालाई बैकुण्ठबास गराउन खोजेको होला, भन्नुपर्छ ।यो अनौठो सेवा दिनका लागि उनले आफ्नो कम्पनीलाई अन्तरीक्ष तथा अन्तेष्टि विशेषज्ञहरुसँग पनि संजाल स्थापना गरेका छन् । 

किविट भन्छन् : यदि आफ्नो प्रियजन चन्द्रमाको चम्किलो प्रकाशमा चम्किरहोस् र आफुले देख्न पाइरहुँ भन्ने चाहनुहुन्छ भने कम्पनीले यो अवसर प्रदान गर्दैछ । यहीँ अगष्ट महिना देखि चन्द्रमामा अस्तु विसर्जनका लागि बुकिंग सुरु भैसकेको छ । कम्पनीले चन्द्रमामा अस्तु विसर्जनका लागि अन्तरीक्षमा सामान पठाउने कम्पनी एस्ट्रोबोटिक टेक्नोलोजीसँग सहकार्य गरेको छ । धेरै अस्तुहरु संकलन भएसँगै सन् २०१७ मा पहिलो खेपमा अस्तुहरु चन्द्रमामा पठाइने बताइएको छ

,

0 comments

Write Down Your Responses