बोकाले बाख्रीजस्तै दुध दिन थालेपछि
२०७२ असोज ३ गते ८:५४ मा प्रकाशित
केही दिन अघि भारतमा एउटा बाख्राको मूल्य ९७ लाख तोकिएको खबरले सनसनी मच्चाएको थियो । आखिर यस्ता अनौठा बाख्राहरु भारतमै मात्र हुन्छन् की क्या हो ? अहिले फेरि एउटा बोकाले तहल्का मच्चाएको छ ।
भारतको मध्यप्रदेशस्थित बडवानी जिल्लाको सेंधवा क्षेत्रका एकजना किसानले घरमा पालेको बोकाले बाख्रीले जस्तै दुध दिन थालेपछि सबै आश्चर्यमा परेका छन् ।
बाख्रीले जस्तै दुध दिन थालेपछि त्यो बोको एकाएक सेलिब्रेटी बनेको छ र ऊसँग सेल्फी लिने मानिसहरुको घुइँचो नै लाग्ने गरेको छ । घरमा पालेको बोको एकाएक चर्चित भएपछि त्यसका मालिक जियाउद्दिन जिन्द्रान पनि मख्ख छन् । दुध दिने बोकाको मालिक भएपछि उनलाई अहिले यसबारेमा जिज्ञासा राख्ने मानिसहरुलाई जवाफ दिनै भ्याईनभ्याई छ ।
उमेरले दुइ वर्षको भएको यो बोकाको नाम उनले राजा राखिदिएका छन् । उनले केही दिनअघि मात्र सेंधवा गाउँको बाहिरी इलाकामा पर्ने राष्ट्रिय राजमार्ग क्षेत्रमा उत्तर प्रदेशका एक व्यापारी सँगबाट उक्त बोका २१ हजार भारुमा किनेका रहेछन् । उनले उक्त बोका खरीद गर्ने बेलामै त्यसले दुध दिन्छ भन्ने जानकारी थियो । दुध दिने उक्त बोका खरीद गर्नका लागि अरु ग्राहकहरु पनि रस्साकस्सी गरिरहेका थिए तर बोकाले दुध दिने त्यो क्षमता इश्वरकै देन भन्ठानेर जिन्द्रानले अरु ग्राहकले भन्दा ५ हजार भारु बढि रकम तिरेर त्यो बोका खरीद गरे ।
बकरीदका अवसरमा बली दिनका लागि भन्दै खरीद गरिएको उक्त अद्भुत बोकोले दैनिक एक पाउ दुध दिने गरेको छ । यो बोको हेर्न उनका घरमा दिनहुँ कैयौँ मानिसहरु आउँछन् र युवाहरु त यो बोकोसँग सेल्फी खिचेर जान्छन् ।
दुध दिने बोकाको विषयलाई लिएर पशु चिकित्सकहरु पनि आश्चर्यचकित भएका छन् ।
एकजना पशु चिकित्सक आर सी पान्चालले पनि आफुले यसरी दुध दिने बोको पहिलोपटक देखेको बताए । वास्तवमा हर्मोनको गडबडीका कारण बोकाले बाख्रीले जस्तै दुध दिन थालेको हो । यो बोकाका स्तन सामान्य बोकाका भन्दा केही ठूला छन् भने भाले यौनाग भने सामान्य स्वरुपमै छ । यो बोकामा अन्य बोकामा जस्तै प्रजनन क्षमता रहेको बताइएको छ ।
0 comments
Write Down Your Responses