नेपालको नयाँ संविधानमा संशोधन गर्नुपर्नेभारतको सात बुँदे सुझाव
काठमाडौं, ६ असोज -
नयाँ संविधान जारी भएकोमा स्वागत समेत नगरेको भारतले नेपालको नयाँ संविधानमा संशोधन गर्नुपर्ने सात बुँदे सुझाव दिएको छ।
भारतीय समाचार पत्र इन्डियन एक्प्रेसका अनुसार नेपालका लागि भारतीय राजदूत रणजीत रायसँगको दुई दिने परामर्शपछि भारतीय बिदेश मन्त्रालयले संविधानमा गर्नुपर्ने सातबुँदे संशोधन सुझाव तयार पारेको छ।
भारतका सात बुँदे सुझावमा समेटिएका कुराहरू
१. विवादित पाँच जिल्लाहरु कैलाली, कन्चनपुर, झापा, मोरङ र सुनसरीलाई जनसंख्याको बहुमतका आधारमा पुरै जिल्ला वा जिल्लाका केही भागहरु छिमेकी मधेस प्रान्तमा समावेश गर्नुपर्ने।
२. अन्तरीम संविधानको धारा ६३ (३) मा निर्वाचन क्षेत्र जनसंख्या, भूगोल र अन्य विशेषताका आधारमा हुनेछन् भनिएको छ। साथै यसमा लेखिएको छ, ‘र, मधेसको हकमा जनसंख्याको प्रतिशतका आधारमा हुनेछ।’ यो प्रावधानले देशको ५० प्रतिशत जनसंख्या रहेको मधेसमा संसदमा ५० प्रतिशत सिटको प्रत्याभूति गर्छ। नयाँ संविधानको धारा ८४ मा पछिल्लो वाक्यांश हटाइएको छ। यसलाई फेरि समावेश गरेर जनसंख्याको आधारमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ।
३. अन्तरिम संविधानको धारा २१ मा विभिन्न समुहहरुलाई समानुपातिक समावेशीताको सिद्दान्तका आधारमा राज्यका निकायहरुमा प्रतिनिधित्व गर्ने अधिकार दिइएको छ। तर, नयाँ संविधानको धारा ४२ मा समानुपातिक भन्ने शब्द निकालिएको छ, जसलाई फेरि राख्नुपर्छ।
४. संविधानको संशोधित मस्यौदाको धारा २८३ मा वंशजको आधारमा देशको नागरिक हुनेहरु मात्रै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानायायाधीश, संसदको सभामुख, राष्ट्रिय सभाको सभाध्यक्ष, प्रान्तको प्रमुख, मुख्यमन्त्री, प्रान्तीय सभाको सभामुख र सुरक्षा अंगहरुको प्रमुख हुन सक्ने व्यवस्था छ। यसले भारतबाट आएर नेपालको अंगिकृत नागरिकता लिएका थुप्रै मधेसीहरु अन्यायमा पर्छन्। त्यसैले यसलाई हटाउनुपर्छ।
५. अन्तरिम संविधानको धारा १५४ मा प्रत्येक १० वर्षमा निर्वाचन क्षेत्र पुनरावलोकन गर्ने उल्लेख थियो। नयाँ संविधानमा यो अवधि बढाएर २० वर्ष पुर्याइएको छ। यसमा पुरानै ब्यबस्था कायम गरिनुपर्छ।
६. नयाँ संविधानको धारा ८६ मा राष्ट्रिय सभामा प्रत्येक ७ राज्यबाट आठ/आठ जना र ३ मनोनित सदस्यहरु रहने व्यवस्था छ। यसलाई संशोधन गरेर प्रदेशको जनसंख्याको आधारमा समानुपतिक प्रतिनिधित्व हुने बनाउनुपर्छ।
७. संविधानको धारा ११ (६) मा नेपाली पुरुषसित विवाह गर्ने विदेशी महिलाले संघीय कानूनअनुसार नेपालको अंगिकृत नागरिकता प्राप्त गर्ने व्यवस्था छ। मधेसी पार्टीहरु अंगीकृत नागरिकता स्वतः पाउनुपर्छ भन्ने अडानमा छन्। त्यो मागलाई पुरा गर्नुपर्छ।
आजै दिल्लीबाट नेपाल आएका भारतीय राजदुत रञ्जित रेले प्रधानमन्त्री सुशील कोइरालालाई भेटवार्ता गरिरहेका छन्।
0 comments
Write Down Your Responses