असोज ३ गतेनयाँ संविधानघोषणा हुने

२०७२ भदौ २८ गते १८:३३ मा प्रकाशित

भदौ, काठमाडौं - देशले असोज ३ गते नयाँ संविधान पाउने भएको छ । असोज ३ गते साँझ ५ बजे राष्ट्रपति डा. रामवरण यादवले नयाँ संविधान जारी गर्नेछन् । विहीबारसम्म नयाँ संविधान घोषणा गर्ने तयारीमा रहेका प्रमुख दलहरुले मिति केही दिन पर सारेर असोज ३ मा पुर्‍याएका छन् । भदौ ३१ को महिना भएकाले ३० गते नभ्याए ३१ गते संविधान जारी गर्न सकिन्थ्यो । तर, ३१ गते संविधान जारी गर्दा आगामी वर्षहरुमा ३१ को महिना नभए संविधान दिवसको मिति नै गायव हुने डरले नेताहरुले ३१ गते संविधान जारी नगर्ने भएका हुन् । 

भदौ ३० गते संविधान जारी गर्ने दलहरुको तयारी सुन्नासाथ कतिपय महिला सभासदले प्रश्न उठाएका थिए । ३० गते महिलाको चाड तीज परेकाले त्यसदिन संविधान जारी नगर्न सुझाव आएको स्रोत बताउँछ । तर, तीजलाई छल्ने सुरमा रहेका नेताहरुलाई संविधानसभाको प्रक्रिया लम्बिएकाले ३० गतेको तीजलाई छल्ने बाहना मिलेको छ । तीजलाई छलेपछि ३१ गते मसान्त पनि छल्ने नेताहरुले निर्णय लिएका छन् । असोज ३ गते आइतबार परेको छ ।
 यो दिन शुक्लपक्षको सप्तमी तिथि हो । उक्त दिन महालक्ष्मी व्रतारम्भको दिन हो । अंग्रेजी तारेखको हिसाबले सेप्टेम्बर २२ तारेख नेपालको संविधान दिवस बन्नेछ ।त्यसो त संविधानसभामा भइरहेको विधेयक मस्यौदामाथिको मतदामन प्रक्रियासमेत लम्बिएका कारण भदौ मसान्तभित्र संविधान घोषणा गर्न समस्या पर्ने भएको छ । सोमबार संविधानसभामा भएको छलफलमा दिनभरि लगाउँदा पनि ५७ वटा धारामात्रै अनुमोदन भएका छन् ।

 यही हिसाबले ३०२ वटा धारामाथिको मतदान सिध्याउन ३/४ दिन लाग्न सक्छ । यही कारणले पनि असोज नलागी संविधान जारी गर्न नभ्याइने अवस्था आएको हो । आइतबारदेखि संविधानसभामा नयाँ संविधानको विधेयकमाथि मतदान चलिरहेको छ । यो प्रक्रिया अझै केही दिन चल्नेछ ।संविधानसभामै विशेष समारोह हुने असोज ३ गते साँझ ५ बजे राष्ट्रपति डा. रामवरण यादवले नयाँ संविधान जारी गर्नेछन् । संविधानसभा सचिवालयले असोज ३ गते साँझ ५ बजे नयाँ संविधान जारी गर्ने कार्यतालिका बनाएको छ ।

 संविधान जारी भएको घोषणाका लागि निम्तो लिएर संविधानसभा अध्यक्ष सुवास नेम्वाङ राष्ट्रपतिलाई भेट्न मंगलबार बिहान ९ बजे शीतलनिवास जाँदैछन् । संविधानसभा सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलका अनुसार अध्यक्ष नेम्वाङ र महासचिव मनोहरप्रसाद भट्टराई असोज ३ गते साँझ ५ बजे संविधानसभामा आउन निम्तो पत्र लिएर शीतलनिवास जान लागेका हुन् ।

 असोज ३ गते सबै सभासदले हस्ताक्षर गर्नेछन् ।संविधानसभामै आयोजना हुने विशेष समारोहमा नयाँ संविधानमा सभाध्यक्ष नेम्वाङले प्रमाणीकरण गर्नेछन् । त्यसपछि राष्ट्रपतिले संविधान जारी भएको घोषणा गर्नेछन् ।

0 comments

Write Down Your Responses