दार्चुलावासीको पीडा : देशभित्रै जान भिसा

भदौ २८

देशको विकट क्षेत्र मानिने सुदूरपश्चिम त्यसभित्रको पनि विकट जिल्ला दार्चुला । जहाँ सरकारको आँखा कमै मात्र पुग्छ, अझभनौँ सरकारको आँखाले भ्याउँदैन । त्यसैले दार्चुलाको पीडा सरकारलाई त्यति दुख्दैन । दुख्थ्यो भने नागरिकले देशको एक भागबाट अर्को भागमा जाँदा अनुमतिपत्र अर्थात् भिसा देखाउनुपर्दैनथ्यो । अवस्था दार्चुलाको हो ।
 गत वर्ष महाकालीमा आएको बाढीले सदरमुकाम खलंगाबजारको स्वरूपै बदलियो, तर सरकारी तहबाट गम्भीरता देखिएन ।
 सदरमुकाम खलंगाबजारबाट पत्रकार कर्ण चन्दको रिर्पोट दार्चुला –

 वारि नेपालको सुदूर पश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गत पर्ने दार्चुला जिल्लाको सदरमुकाम खलंगा बजार, पारि भारतको उत्तराखण्ड प्रदेशअन्तर्गत पर्ने पिथौडागड जिल्लाको धार्चुला बजारबीचमा महाकाली नदी । खलंगाको डिलबाट पारिको धार्चुला बजारको चहलपहल, सडकमा गुडिरहेका यातायातका साधनलाई सजिलै नियाल्न सकिन्छ । त्यस्तै, धार्चुलाबाट खलंगालाई पनि नियाल्न सकिन्छ । दार्चुलामा नेपाल सरकारको निर्धो उपस्थितिलाई पनि सजिलै मूल्यांकन गर्न सकिन्छ ।

२०७० असारमा महाकाली नदीमा आएको बाढीका कारण धार्चुला र खलंगा बजार जोड्ने दुवैतर्फका सडक भत्कनुका साथै बजारसमेत बगाएको थियो । बैतडी हुँदै दार्चुलाको सदरमुकाम जोड्ने सडकमा गुड्ने गाडी कति बेला महाकाली नदीतर्फ कोल्टिन्छन्, कति बेला भित्तातिर । तर, धार्चुलाका सडकमा गाडीहरू सररर गुड्छन् । भत्किएका सडक पुनर्निर्माण गरी फेरि पुरानै हालतमा चिल्ला बनाएका छन् । महाकाली नदीमा आएको बाढीले नेपाल–भारत दुवैतर्फका बजारमा ठूलो क्षति गरेपछि भारतले धार्चुलातर्फ ठूलो पर्खाल निर्माण गरेको छ, जसकारण फेरि महाकालीमा आउने बाढीले नेपाल तर्फको भू–भाग काट्ने निश्चित छ । 

नेपालतर्फको निर्माण कार्य भने भदौ बित्नै लाग्दा समेत सम्पन्न हुन सकेको छैन । दार्चुला ब्यास–१ मा पर्ने लिपुलेक भञ्ज्याङमा सन् १९६२ देखि भारतीय सीमा सुरक्षाबल (एसएसबी) को एक टुकुडी करिब ५३ सय मिटर उचाईमा नेपाली भूमिमा बस्दै आएको छ । नेपाल प्रहरी लिपुलेकभन्दा करिब डेढ दिनको पैदल दूरीमा पर्ने तिङर नाकामा मौसमका कारण तीन महिना मात्रै बस्छ, बाँकी समय दार्चुला सदरमुकाम फर्कन्छ 

देशभित्रै जान भिसा

तपाईंलाई सुन्दा अचम्म लाग्न सक्छ, नागरिकलाई देशभित्रै ओहोरदोहोर गर्न पनि भिसा चाहिन्छ भन्दा । यो कुनै अर्को देशको कुरा होइन, दार्चुलाका नागरिकले आफ्नै भूमिमा जाँदा अनुमतिपत्र लिनुपर्ने हुन्छ । दार्चुलाको उत्तरी क्षेत्रमा पर्ने ब्यासलगायत गाविसमा जाँदा दार्चुलाका नागरिकले जिल्ला विकास समितिको कार्यालयबाट अनुमतिपत्र लिनुपर्ने हुन्छ ।

 कुरा यत्ति मात्रै छैन, त्यहाँबाट हाम्रो जिल्ला विकास समितिले मात्र अनुमति दिएर हुन्न, नेपाली भूमिमा जानका लागि अनुमतिपत्रको स्वीकृति भारतले दिनुपर्ने हुन्छ । भारतीय अधिकारीले उक्त अुनमतिपत्रमा हस्ताक्षर नगरेमा आफ्नै देशमा जान सक्ने अवस्था छैन ।

 नेपाल र भारतको खुला सिमाना भएका दुवै देशका नागरिकलाई एकबाट अर्को देशमा जानका लागि अनुमतिपत्र÷भिसा आवश्यक पर्दैन । नेपालको बाटो भएर आफ्नै भूमिमा पुग्न सक्ने अवस्था नभएका कारण भारतीय भूमि र नेपाली अतिक्रमित भूमि हुँदै जानुपर्ने हुन्छ । दार्चुलाका नागरिकले भोग्दै आएको यो समस्या उनीहरुको मात्रै होइन, राष्ट्रियताको आक्रमण पनि हो ।

0 comments

Write Down Your Responses