तेलको अभावले राजधानीमा खानेपानीको आपूर्ति ठप्प
२०७२ असोज २६ गते १३:२९ मा प्रकाशित
२६ असोज, काठमाडौं - इन्धनको अभाव झेलिरहेका राजधानीबासीले खानेपानीको समेत अभाव झेल्नुपर्ने भएको छ । पानी उद्योगीहरुले इन्धनको अभाव देखाउँदै बजारसम्म पानी पुर्याउन नसक्ने स्पष्ट पारेका छन् ।नेपाल बोटल वाटर उद्योग संघले प्रशस्त मात्रामा पानीको उत्पादन भइरहे पनि इन्धन अभावका कारण बजारमा पुर्याउन नसकिने बताएको छ ।
पानी लिन उद्योगमै जानेलाई सेवा दिन तयार रहेको बताउँदै सरकारले इन्धन सहज रुपमा उपलब्ध नगराएसम्म बजारसम्म भने पानी पुर्याउन नसक्ने संघको भनाई छ ।
उद्योगमा नै आएर पानी खरिद गर्नेलाई उद्योगकै मूल्यमा पानी दिइने संघले जानकारी गराएको छ । भारतले गरेको अघोषित नाकाबन्दीका कारण इन्धन अभाव हुँदा ६० प्रतिशत आपूर्ति घटेको संघका महासचिव मधु घोरासैनीले बताए ।
‘पानी उद्योगहरुसँग रहेको इन्धनको मौज्दात सकिँदै गएको र सरकारले पनि यसप्रति चासो नदेखाएकाले हामीहरुवाट उत्पादित प्रशोधित पिउने पानी उपभोक्तासम्म पुर्याउन असमर्थ छौं’ उनले भने- ‘बजारमा इन्धन नपाएपछि निगमसँग सहयोग माग्न जाँदा निगमले समेत सहयोगका लागि इन्कार गरेको छ ।
’
हाल काठमाडौंमा शुद्ध पिउने पानीमध्ये ७५ देखि ८० प्रतिशत निजी पानी उद्योगहरुले उपभोक्तामा आपुर्ति गर्दै आएका छन् । इन्धन नपाइएपछि आजैदेखि आपुर्ति ठप्प हुने घोरासैनीले बताए ।
0 comments
Write Down Your Responses