'दुई वर्षमा एक नम्बर पार्टी बनाउँछुु
२०७२ आस्विन १६ शनिबार
टोपबहादुरले भने- बाबुरामको पछि लाग्दैनौँ
काठमाडौँ : एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा विभिन्न खालको टुटफुट भए पनि आगामी दुई वर्षभित्र एक नम्बरको पार्टी बनाउने बताएका छन् ।
एमाओवादी केन्द्रीय समितिले शनिबार गरेको पार्टी कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै उनले पार्टीभित्र देखिएका समस्या र टुटफुटबाट बाहिर निस्केर नेपाली जनताको चाहना र भावना बमोजिम अगाडि बढी एक नम्बरको पार्टी बनाउने बताएका हुन् ।
विभिन्न टुक्रामा विभक्त माओवादी आन्दोलनलाई एकताबद्ध बनाउन आफूहरुले हदैसम्मको प्रयत्न गर्ने बताउँदै केही दिन पहिले मात्रै पार्टी परित्याग गरेका डा बाबुराम भट्टराईलाई समेत जिम्मेवारीमा फर्कन आग्रह गरे ।
'पार्टी परित्याग गर्नेबित्तिकै सत्तोसराप गर्नुपर्छ भन्ने छैन, उहाँलाई कोही कसैले पनि गाली नगरौँ', उनले भने, 'उहाँले उठाएका विषयलाई पार्टीले आत्मसात् गर्छ र पार्टीलाई रुपान्तरित गरेर अगाडि बढाइन्छ ।'
पार्टी केन्द्रीय समितिले डा भट्टराईलाई पुनः पार्टीमा फर्कन आग्रह गरिसकेको सन्दर्भमा उत्तेजनामा आएर गालीगलौज नगर्नसमेत उनले आग्रह गरे ।
उनले नयाँ संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको भन्दै सत्ताको खेलमा लागेर बहुमतीय सरकार बनाउन नहुने धारणा राखे ।
प्रमुख तीन दलको बीचमा संविधान कार्यान्वयन गर्ने चरणसम्म मिलेर जाने सहमति भएकाले त्यसलाई पालना गर्न सबैलाई आग्रह गरे ।विगतमा १६ बुँदे सहमति हुँदा तीन दलको बीचमा सहमतिका आधारमा अगाडि बढ्नेमा सबै एकमत भएकाले त्यसलाई अगाडि बढाउन सबैको साथ र सहयोग जरुरी रहेको अध्यक्ष दाहालको कथन थियो ।
एमाओवादीले मुलुकलाई सङ्कट परेको बेला महत्वपूर्ण निर्णय गरेको उल्लेख गर्दै उहाँले संविधान निर्माण गर्न पनि त्यो खालको निर्णय गरेको बताए ।
संविधानसभाबाट संविधान निर्माण गर्ने जनताको चाहना पूरा भएकाले संविधानका सकारात्मक विषयलाई जनतामाझ लैजान पार्टी कार्यकर्तालाई निर्देशन दिए ।
नेपाल र भारतबीच विगत लामो समयदेखि रहेको सुमधुर सम्बन्ध पछिल्लो समयमा आएर भारतले गलत निर्णय गरेको अध्यक्ष दाहालले बताए ।
'नेपालका लागि निर्णय गर्न नेपाली जनता र राजनीतिक दल स्वतन्त्र छन्', उनले भने, 'त्यसलाई कोही कसैले पनि आपत्ति गर्नु आवश्यक छैन ।'
राष्ट्रियताको पक्षमा प्रतिबद्ध भएर उभिन कार्यकर्तालाई निर्देशन दिँदै अध्यक्ष दाहालले नेपालको हित र चाहना विपरीत गएर कोही कसैले पनि गलत गतिविधि सञ्चालन गर्न नसक्ने धारणा राखे ।
बाबुरामको पछि नलाग्ने टोपबहादुरको भनाइ
एमाओवादीका सचिव एवम् संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने समयमा डा भट्टराईले पार्टी परित्याग गरेर गलत गरेको बताए ।
उनले विभिन्न टुक्रामा विभक्त भएको माओवादी आन्दोलनलाई एकताबद्ध बनाएर अगाडि लैजान पहल र प्रयत्न गर्नुपर्नेमा पार्टी छोड्ने कुरा कुनै पनि हालतमा जायज मान्न नसकिने धारणा राखे ।
'डा भट्टराईले गलत काम गर्नुभयो, उहाँको पछि लाग्न सकिँदैन, पार्टीमा नै रहेर सङ्घर्ष गरिन्छ, परित्याग गरिँदैन', रायमाझीले भने, 'एकताबद्ध भएर जनताको बीचमा जान म सबैलाई आग्रह गर्दछु ।'
प्रशिक्षणमा काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रेलाञ्चोक, दोलखा, रामेछाप, सिन्धुलीका अगुवा कार्यकर्ताको सहभागिता रहेको थियो । रासस
0 comments
Write Down Your Responses