अर्थमन्त्री पौडेलले विदेशीसँग अंग्रेजी बोल्न मानेनन्
POSTED ON : NOVEMBER 26, 2015, IN : NEWS
दाताको बैठकमा भाषाको कठिनाइ
कुविक
एनपी न्युज
मंसिर, काठमाडौं : बुधबार दिउँसो २ बजे अर्थ मन्त्रालयले विदेशी दाताहरुसँग अन्तक्रिया कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा विदेशी दातृ निकायका तीन दर्जन प्रतिनिधि उपस्थित थिए ।
मंगलबार साँझमात्रै अर्थमन्त्रालयले जारी गरेको श्वेतपत्रका बारेमा अर्थमन्त्रीले दाताहरुलाई ‘बि्रफिङ’ गर्ने र सहयोगका लागि आग्रह गर्ने कार्यक्रम थियो त्यो ।
तर, त्यहाँ भाषाको समस्या खड्कियो ।
कार्यक्रमको सुरुवात अर्थसचिव लोकदर्शन रेग्मीले गरे । उनले अंग्रेजी भाषामै श्वेतपत्रका बारेमा दाताहरुलाई बि्रफिङ गरे ।त्यसपछि राष्ट्र बैंकका डेपुटी गभर्नरले अंग्रेजीमै मौद्रिक दृष्टिकोणबाट आफ्ना कुरा राखे ।
कार्यक्रमका तेस्रो वक्ता थिए, योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडा । खतिवडाले तीन पृष्ट लामो लिखित वक्तव्य अंग्रेजीमै प्रस्तुत गरे ।
कार्यक्रमका चौथो तथा मुख्य वक्ता थिए, अर्थमन्त्री विष्णु पौडेल । जब मन्त्रीे पौडेलको बोल्ने पालो आयो, तब उनले आफ्नो अगाडि रहेको माइक अन गरे । अनि नेपाली भाषामै दाताहरुलाई धन्यवाद दिँदै आफ्ना कुरा राख्नु सुरु गरे ।
‘हाम्रो निमन्त्रणालाई स्वीकार गरेर यहाँसम्म आउनु भएको छ, सर्वप्रथम त म तपाईहरुलाई धन्यवाद दिन चाहन्छु ।
भूकम्पपछिको पुननिर्माणप्रति यहाँहरुले चासो देखाउनुभएको छ, त्यसप्रति म गम्भीर छु’ मन्त्री पौडेलले विदेशी दातासामू दिएको भाषणको पहिलो अंश यस्तो थियो ।
मन्त्रीले यो वाक्य सक्नेवित्तिकै अर्थ मन्त्रालयका सहसचिव मधु मरासिनीले उनको भाषणलाई अंग्रेजीमा उल्था गरेर दाताहरुलाई सुनाए ।
यो क्रम निकैबेर चल्यो । अर्थमन्त्रीले करिब ५० देखि १०० शब्द नेपालीमा बोल्थे भने मरासिनीले त्यसलाई अंग्रेजीमा रुपान्तरण गर्थे । करिब आधा घण्टासम्म अर्थमन्त्रीको भाषण यसैगरी जारी रहृयो ।
दाताहरुले चुपचाप सुनिरहे । अर्थमन्त्रीको दोभाषे काम गर्ने सहसचिव मरासिनी अर्थमन्त्रालयको बैदेशिक सहयोग समन्वय महाशाखाका प्रमुख हुन् ।
मन्त्री पौडेलले नेपालीमा बोलेको र सहसचिवले त्यसलाई अंग्रेजीमा उल्था गरेको प्रत्यक्ष देखेका दातृ निकायका प्रतिनिधिहरु केही अनौठो महसुस गरिरहेका थिए । कर्मचारीले पनि खासखुस गरेको देखियो । किनभने, यसअघिका अर्थमन्त्रीहरुले अंग्रेजीमै आफ्ना धारणा राख्ने गरेका थिए ।
अर्थमन्त्रीले विदेशी सामू अंग्रेजीमा नबोलेर नेपालीमै बोल्नु नेपाली भाषाको मान सम्मानका लागि राम्रै कुरा हो । चिनियाँ सरकारी अधिकारीहरुले पनि आफ्नै भाषालाई महत्व दिन्छन् ।
तर, बुधबार अर्थ मन्त्रालयमा अलि भिन्न र असहज वातावरण देखियो । मन्त्रीलाई के बोल्ने भनेरसम्म योजना आयोगका उपाध्यक्ष डा. खतिवडाले सिकाइरहेका थिए ।
जब अर्थमन्त्रीको भाषण सकियो । अनि आधा दर्जन बढी दातृ निकायका प्रतिनिधिहरुले अंग्रेजी भाषामा आफ्ना जिज्ञासाहरु राखे ।
पहिलोपटक दाताहरुको जिज्ञासाको उत्तर योजना आयोगका उपाध्यक्ष खतिवडाले दिए ।
त्यसपछि दाताहरुको जिज्ञासाको जवाफ दिने अर्थमन्त्री पौडेलको पालो आयो । दाताहरुले राखेको कुरा के हो ? र, कस्तो जवाफ दिने भनेर उपाध्यक्ष खतिवडाले नेपालीमा लेख्दै मन्त्री पौडेलका अगाडि खुसुक्क राखिदिन थाले । अनि मन्त्रीले त्यही कागज पढेे । त्यसलाई फेरि मरासिनीले अंग्रेजीमा उल्था गरे । यो क्रम १५ मिनेटजति चल्यो ।
जब कार्यक्रम सकियो । तब सुरु भयो, चियापान ।
अर्थ मन्त्रालयको छतमा सुरु भएको ‘हाइ-टी’ विदेशी पाहुना र अर्थमन्त्रीबीच शुभकामना आदान-प्रदान भयो । मन्त्री पौडेललाई दाताहरु बधाइ दिए ।जब दाताहरु ‘कंग्र्याचुलेसन, फाइनान्स मिनिस्टर’, ‘हाउ आर यू मिनिस्टर’ भन्दै मन्त्री पौडेलका छेउमा पुगे, तब मन्त्रीलाई निकै आपत पर्यो । हलमा परेको आपत त खतिवडा र मरासिनीबाट बल्लतल्ल समाधान भएको थियो ।
तर, जब विदेशीहरुले व्यक्तिगतरुपमा कुरा गर्न थाले, अनि अर्थमन्त्रीले अप्ठ्यारो महसुस गरे ।
मन्त्रीलाई असहज भएको देखेपछि नजिकै रहेका सहसचिव मरासिनी हत्तपत्त मन्त्रीको छेउमा पुगे । र, ‘उहाँले के छ मन्त्रीज्यू भनिरहनुभएको छ, भनेर उनले मन्त्रीलाई सुनाए । त्यसपछि मन्त्रीले मुन्टो हल्लाउँदै ‘ठीक छ’ भने । मरासिनीले त्यही कुरा विदेशीलाई अंग्रेजीमा उल्था गरेर सुनाए । यो क्रम लगभग १० मिनेटजति चल्यो ।
एमाले उपमहासचिवसमेत रहेका मन्त्री पौडेलको औपचारिक शैक्षिक योग्यता थोरै भएको चर्चा त यसअघि नै बजारमा व्याप्त थियो । तर, व्यवहारिकरुपमा उनको भाषामाथिको कमजोरी भने बुधबार अर्थमन्त्रालयमा प्रत्यक्ष अनुभव गर्ने अवसर मिल्यो ।
परराष्ट्र मन्त्री र अर्थमन्त्रीले विदेशीहरुसँग बाक्लो छलफल र अन्तक्रिया गर्नुपर्ने भएकाले सामान्यतयाः यी दुई मन्त्रालयको जिम्मेवारी अंग्रेजी भाषामा पोख्त व्यक्तिलाई जिम्मा लगाउने चलन छ ।
तर, प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र अंग्रेजी बोल्न जान्ने व्यक्तिहरु हुँदा-हुँदै पनि अर्थ मन्त्रालयको जिम्मेवारी पौडेललाई सुम्पिएका छन् ।
अर्थमन्त्रीजस्तो महत्वपूर्ण व्यक्तिले अंग्रेजीमा हाइ हेल्लो भन्न पनि दोभाषे प्रयोग गर्नुपर्ने परिस्थिति देखियो दाताहरुको बैठकमा ।
तर, अर्थमन्त्रीका निकटस्थहरु भने उनले राम्रोसँग अंग्रेजी बोल्ने गरेको बताउँछन् ।

0 comments
Write Down Your Responses