यसरी तुहियो प्रचण्डको बाल्यकालदेखिको सपना !!
काठमाडौं, भदौ : भनिन्छ मानिस जन्मिदा खेरी नै एउटा सपना बोकेर संसारमा पाइला टेक्छ । र त्यो सपना पूरा गर्न हजारौं संघर्ष जीवनमा उसले गर्छ ।
संसारमा जन्म लिएका हरेक मान्छेको आ–आफ्नै सपना छ । कसैले डाक्टर बन्ने सपना बुनेका छन्, भने कसैले इन्जिनियर । तर, यहाँ सबैको सपना पुरा हुन सकेका छैनन् । डाक्टर बन्ने सपना बुनेका युवाले विविध कारणले खेतमा हलो जोत्नुपरेको उदाहरण कति छन् कति । यस्तै सपना बोकेका एक युवा हुन् पुष्पकमल दाहाल ।
जो अहिले नेपालको राष्ट्रिय राजनीतिका हिस्सेदारका रुपमा चिनिन्छन् । अर्थात देश चलाउने नेता बनेका छन् । अहिले उनी पुष्पकमल भन्दा पनि ‘प्रचण्ड’को नामले बढी चिनिन्छन् ।
चितवन घर भएका पुष्पकमल हातहतियार सम्बन्धी ज्ञान लिनमा एकदमै अगाडि थिए । उनी सानैदेखि हातहतियार चलाउनमा गहिरो रुची राख्थे । त्यही रुचीले उनको मन मस्तिस्कमा एउटा सपना थियो नेपाली सेनाको कर्णेल बन्ने ।
‘२०२८ सालमा पुष्पलाल समूहका नेता रुपलाल विश्वकर्माबाट कम्युनिष्ट पार्टीको सदस्यता लिइसकेर पनि पुष्पकमल दाहाल दोधारमै थिए– शाही नेपाली सेनामा गएर सेकेन्ड लेफ्टिनेन्ट बन्ने कि कम्युनिष्ट आन्दोलनमा होमिने ? सुरुमा सोचे–सैनिक अधिकृत नै बन्ने । र, भर्ना भए सेनाको नेशनल क्याडेट फोर (एनसीसी) मा ।
चितवनमा हुर्के–बढेका उनी त्यसयताका पाटन संयुक्त क्याम्पसमा आईएससी पढ्दै थिए । ‘आईएससी पढेकालाई सेकेन्ड लेफ्टिनेन्टमा लिने चलन थियो । अझ एनसीसी ग¥यो भने विशेष ग्राह्यता पाईन्थयो ।’ प्रचण्डले खुलासा गरे, ‘सुरुमा मेरो ध्यान त सेनामै जाने थियो ।’
त्यस बेला कलेज पढिरहेका विद्यार्थीलाई सामान्य फौजी कौशल सिकाउने ‘एनसीसी’ तालिम दिईन्थ्यो ।
एक वर्षभरि काठमाडौ.को सैनिक मुख्यालयसामुन्ने टुँडिखेलमा छाती तन्काउँदै परेड पनि खेले उनले । ‘सेनामा जाने इन्ट्रेस्ट खोई कताबाट आयो ! आर्मी अफिसर बन्न असाध्यै मन लाग्थ्यो ।’ पारिवारिक प्रेरणाले हो कि भन्ने अडकल काट्दै उनले थपे, ‘हुन त मेरा काकाहरु पनि सेनामा थिए । एक जना काका त सुवेदार मेजर पनि हुनुहुन्थ्यो । सायद त्यसैको इम्प्रेस प¥यो कि !’
तर पछि सोचाइ एकाएक फेरियो । उनले सरकारी सैनिक होइन, क्रान्तिकारी कम्युनिष्ट बन्ने निश्चय गरे । त्यतिञ्जेल एनसीसीको एकवर्षे तालिम लिइसकेका थिए । तर सेकेण्ड लेफ्टिनेन्ट बन्ने परीक्षाचाहिँ दिएनन् । किन ? एनसीसी र आईएससी कम्प्लिट भइसकेपछि मलाई राजनीतिको नशा यति लाग्यो कि सेनामा जानु हुन्न भन्नेतिर गएँ म ।’
सेनामा गएको भए उनी पनि कतै माओवादीसँगै युद्ध भिड्थे होलान् । अथवा देशले जनयुद्ध देख्दैन थियो कि ! ‘सेनामा जानुभएको भए कर्णेलभन्दा माथि पुग्नुहुन्थ्यो होला ?’ जवाफमा ‘त्यो त खोइ, के भइन्थ्यो कुन्नी !’ भन्दै उनी कुम हल्लाउँदै हाँसे । सेनामा भर्ती नभए पनि उनको सैन्य मोहचाहिँ हराएको थिएन् । कालान्तरमा उनले एक दशक लामो सशस्त्र संघर्षको अगुवाई गरे र सरकारी सेनाको ‘कर्णेल’ होइन, आफैंले खडा गरेको जनमुक्ती सेनाको कमाण्डर बने ।
जसले बन्दुक चलाउन सिकायो, त्यो उसैतिर सोझियो । त्यतिबेला पुष्पकमल आर्मी अफिसर नभई प्रख्यात प्रचण्ड बनिसकेका थिए ।’’ प्रचण्डको यो भनाई सुधीर शर्माद्धारा लेखिएको पुस्तक प्रयोगशालामा उल्लेख गरिएको छ ।
माथि भनेजस्तै, प्रचण्डको चाहना नेपाली सेनाको कर्णेलसम्म पुग्ने नै थियो । तर कारणवंश उनी माओवादी लडाकूका कमाण्डर बने । जसमा मुख्य कारण हो कम्युनिष्ट आन्दोलन, जसले प्रचण्डलाई यसरी छोयो कि उनले सेनाको कर्णेल बन्ने सपना बिर्सिए । कम्युनिष्ट आन्दोलनको नेतृत्व हातमा लिँदै प्रचण्डले हतियार चलाउने चाहना त पूरा गरे तर, माओवादी बनेर । सेनामा भने उनी कर्णेल भन्दा पनि दुश्मन बने ।
0 comments
Write Down Your Responses