चीनले इन्धन दिने भएपछि भारतमा हल्लीखल्ली

अन्नपुर्णपोस्ट बाट

 २०७२ कार्तिक ८ 

आईतवारकाठमाडौं : एक महिनादेखि दक्षिणको नाकाबन्दी झेलिरहेको नेपाललार्इ चीनले इन्धन दिने भएपछि भारतीय सञ्चारमाध्यममा हल्लीखल्ली भएको छ । नेपालले पहल गर्दा पनि भारतले नाकाबन्दी नखोल्ने जनाएपछि चीनबाट इन्धन ल्याउने प्रक्रिया अघि बढेसँगै भारतीय सञ्चारमाध्यमले त्यसलार्इ प्रमुख समाचार बनाएका हुन् ।

 चीनले नेपाललार्इ १० लाख लिटर पेट्रोलियम दिने समाचार शनिबार सार्वजनिक भएपछि भारतीय मूलधारका सञ्चारमाध्यममा त्यो समाचारले ठाउँ पाएको हो । नेपालले चीनबाट इन्धन ल्याउनका लागि प्रक्रिया अघि बढाएको अवस्थामा भारतीय सञ्चारमाध्यममा चर्चा शुरू भएको हो । भारतीय सञ्चारमाध्यमले विशेषगरी चीनले नेपाललार्इ १० लाख लिटर इन्धन दिन लागेको समाचारलार्इ प्रमुखताका साथ छापेका हुन् ।

 सरकारी टोली चीनबाट इन्धन ल्याउनका लागि आइतबार चीनको बेइजिङ जाँदैछ । वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ र परराष्ट्रको टोली चीन जान लागेको हो । तेल ल्याउनका लागि परराष्ट्रले शनिबारै चीनलाई औपचारिक पत्र पठाइसकेको छ । भारतले नाकाबन्दी गरेपछि चीन र नेपालको संयुक्त प्रयासमा वैशाखको भूकम्पपछि झरेको पहिरोले अवरूद्ध रसुवाढी-केरुङ नाका असोज २८ मा खोलिएको थियो । तर फेरि पहिरो झरेर अवरूद्ध सो नाका खुलाउने प्रयासमा दुबै देशका अधिकारीहरू सक्रिय भएका छन् ।

 चीनले दिने भनिएको इन्धन सोही नाकाबाट नेपाल भित्रनेछ । भारतको चर्चित पत्रिका टाइम्स अफ इन्डियाको अनलाइन संस्करणमा चीनले नेपालमा एक हजार मेट्रिक टन इन्धन दिन लागेको समाचार छापेको छ । टाइम्स अफ इन्डियाले चाडबाडको समयमा चीनले नेपाललार्इ सो परिमाणको इन्धन अनुदानस्वरूप दिन लागेको उल्लेख गरेको छ । 'चीनबाट इन्धन ल्याएसँगै नेपालमा इन्धन निर्यातको भारतीय एकाधिकार अन्त्य हुनेछ', टाइम्स अफ इन्डियाले लेखेको छ, 'मधेस आन्दोलनका कारण भारतले इन्धन पठाउन नसकेको हो । 

चीनबाट इन्धन ल्याउन नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डले पहल गरिरहेका छन् ।' गल्फ टाइम्समा समेत चीनबाट नेपालमा इन्धन भित्र लागेको समाचारले प्राथमिकता पाएको छ । नेपालले चाहेजति सहयोग गर्ने प्रतिबद्धता चीनले जनाएको समाचारसहित गल्फ न्यूजले भारतसँगमात्रै निर्भर पर्दा नेपाल चरम संकटमा परेको दाबी गरेको छ ।

 गल्फ टाइम्सले भारतको सहयोगमा मधेसमा आन्दोलन गरिरहेका मधेसी मोर्चाका कार्यकर्ताहरूले भारतबाट भित्रेका गाडी जलाएको समाचार पनि छापेको छ । भारतको अर्को चर्चित पत्रिका इण्डियन एक्सप्रेसले केपी ओली नेतृत्वको सरकारले चीनसँगको सीमाक्षेत्रको अवरोध खेल्नुका साथै भारतीय नाकाबन्दीविरुद्ध संयुक्त राष्ट्रसंघमा नेपालले हालेको समाचारलार्इ प्राथमिकताका साथ छापेको छ ।

 भारतको चर्चित एनडीटिभीको अनलाइन संस्करणमा मधेस आन्दोलन रहिरहेको जनाउँदै भारतको नाकाबन्दी जारी रहेका बेला चीनले नेपाललाई इन्धन दिन लागेको समाचार छापेको छ ।

0 comments

Write Down Your Responses