बिदेस जाने सपना छोडेर थाङ्का उद्यमी बने माइला

करिब दुई वर्षअघि जापानको शहरहरुमा गएर धन कमाउने सपना देखेका माइला घिसिङ अहिले नेपालमै थाङ्का उद्यमी बनेका छन्। थाङ्का व्यवसायबाट उनले धन मात्रै कमाएका छैनन् अन्य २२ जनालाई रोजागारी समेत दिएका छन्। जापान जान कागजपत्र तयार बनाएका घिसिङलाई दुई वर्षअघि एक कन्सल्टेन्सीले १५ लाख रुपैयाँ माग्यो। जापानको शहरमा पुर्याउन कन्सल्टेन्सीले १५ लाख रुपैयाँ मागेसंगै उनको सोच बदलियो। 

‘१५ लाख रुपैयाँ रकम जोहो गर्नै लाग्दा मलाई आफ्नो १५ लाख रकमको माया लाग्यो, जसले मलाई जापानको सपनाबाट उठाएर बौद्धमा थाङ्काको व्यवसाय गर्ने बिपनामा ल्याईपुर्‍यायो ’,घिसिङले भने। १५ लाख रुपैयाँ तिरेर बिदेशमा काम गर्न जानु उनले उचित ठानेनन्। दुई वर्षअघि १५ लाख रुपैयाँ नेपालमै लगानी गर्न सके राम्रो कमाई गर्नसकिने उनको अनुमान मात्र थियो। तर आज त्यो पुरा भएको छ । जसबाट उनले २२ जनालाई नेपालमा रोजगारी समेत दिन सफल बनेका छन्।

 थाङ्का उद्यमी बनेका माइलाले दुईवटा बिषयमा स्नातकोत्तर पास गरेका छन्। त्रिभुवन बिश्वबिद्यालयबाट ग्रामीण बिकास र लुम्बिनी बिश्वबिद्यालयबाट बुद्धिजममा स्नातकोत्तर गरेका घिसिङको थाङ्का व्यवसायमा काम गरेको समेत लामो अनुभव छ। किनकी यी दुवै बिषयमा स्नातकोत्तरसम्म पढ्नको लागि उनको मुख्य आयस्रोत नै थाङ्का व्यवसाय थियो। ८ कक्षा पढ्दादेखि नै उनले आफ्नो पढाई खर्च थाङ्का व्यवसायबाट जुटाउन सुरु गरेका थिए। काभ्रेको माझिफेरामा जन्मेका माइला २०५४ सालमा ८ कक्षा पढ्नको लागि काठमाडौं छिरे ।

 ८ कक्षादेखि दुईवटा बिषयमा स्नातकोत्तरसम्म काठमाडौंमै पढे तर आफ्नै खर्चमा। थाङ्का व्यवसायको क्षेत्रमा उनी आफ्नोे रहर भन्दा पनि बाध्यताले आएका हुन्। ६ कक्षा पढ्दादेखि नै थाङ्का कोर्न थालेको उनको भनाई छ। छ कक्षामा पढ्दा उनले थाङ्का व्यवसायबाट मासिक ५ सय रुपैयाँ कमाउँथे । तर अहिले भने उनले कुदेँको एकै थाङ्काको मूल्य डेढ लाख रुपैयाँसम्म पर्दछ। आफ्नो घरको आयस्रोतको क्षेत्र थाङ्का भएकोले आफु सुरुका दिनमा रहरले भन्दापनि बाध्यताले आएको उनले बताए।

 ‘नेपालमा थाङ्काको व्यवसाय नभएको भए सायद अहिले म कतार या भारतमा कामदारको रुपमा हुन्थे होला’ घिसिङले भने।नेपालमा करिब ४० वर्षअघिदेखि थाङ्का व्यवसायीकरण भएको उनले जानकारी दिए। उनले थाङ्काको व्यवसाय नेपालमा फस्टाउँदै गएको र यसबाट राम्रो नाफा समेत रहेको जानकारी दिए।‘बिदेशमा गएर कमाउने पैसा भन्दा धेरै पैसा मैले यही स्वदेशमै बसेर व्यवसाय गरी कमाएको छु। ’ 

आफुले धन कमाएकोमा भन्दापनि २२ जनालाई राजागारी दिन सकेकोमा उनी खुसी देखिन्छन्। बिज्ञान संकायमा प्रविणता र स्नातकोत्तर पढ्नको लागि अस्कलको छात्रावासमा बसे। कलेज र छात्राबासलाई आवश्यक पर्ने शुल्क जुटाउन छात्राबासका कोठामा बसेर समेत थाङ्का कोरेको घिसिङको भनाई छ। अहिले बौद्धमा रहेको उनको मैत्रेय थाङ्का प्रालीमा ५ सय रुपैयाँदेखि डेढ लाख रुपैयाँ सम्मका थाङ्का निर्माण हुने गरेका छन्।

 थाङकामा आकार र यसको गुणस्तरले पैसा निर्धारण गर्ने गर्दछ। भूकम्पपछि नेपालको पर्यटन क्षेत्र चौपट बनेको छ। जसबाट थाङ्का व्यवसाय समेत प्रभावित बनेको छ। भूकम्पअघि घिसिङसंग ३३ जना कामदार थिए तर भूकम्पले व्यवसाय प्रभावित पारेपछि उनीसंग अहिले जम्मा २२ जना कामदार छन्। भूकम्पअघि यो वर्ष एक सयलाई रोजगारीलाई दिने योजना रहेको घिसिङ बताउँछन्।

0 comments

Write Down Your Responses