सेतो घोडाको मृत्युले तलेजु जात्रा प्रभावित र देशमा अजै अशुभ हुने संकेत
अन्नपूर्ण बाट
२०७२ कार्तिक १० मंगलवार
भक्तपुर: तलेजु भवानीको वाहन सेतो घोडाको मृत्यु भएपछि जात्रा प्रभावित हुने भएको छ।
चालीस वर्ष उमेरको उक्त घोडा विगत ३६ वर्षदेखि भक्तपुरको तलेजुमा तलेजुको वाहनका रूपमा रहँदै आएको थियो। घोडा आइतबार मरेको थियो।
नवदुर्गामध्येको प्रमुख देवी मानिने तलेजु भवानीको वाहन सेतो घोडालाई विजयादशमीको राति वर्षमा एक दिन चन्द्रमासको गतिअनुसार तलेजु र नवदुर्गा भवानीसहित खड्गजात्रा (पायो जात्रा) गरेर नगर परिक्रमा गराउने प्रचलन छ। यसलाई भक्तपुरको घोडेजात्रा पनि भन्ने गरिन्छ।
तलेजुका पुजारी नाइके प्रा.डा. सिद्धिवीर कर्माचार्यले महिषासुर दानवमाथि विजय हासिल गरेपछि तलेजुले आफ्नो वाहन सेतो घोडामा सिँगारिएर तलेजु भवानी खुसियाली मनाउन नगर परिक्रमा गरेको भन्ने जनविश्वासअनुसार यो जात्रा मनाउने गरिन्छ।
गत विजयादशमीको दिन खड्ग जात्रा मनाएर फर्कने क्रममा तलेजुको तबेलाको ढोकामा ठोक्किएर घाइते भएको घोडा आइतबार मरेपछि भक्तपुरको घोडेजात्रा र अन्य जात्रा प्रभावित हुने कर्माचार्यले बताए।
धार्मिक र सांस्कृतिक मान्यताअनुसार तलेजुको वाहन घोडाको मृत्यु हुनुलाई अशुभ मानिन्छ। घोडा र तलेजुको सुरक्षाका लागि ज्वालादल गणका १७ जना नेपाली सेना परिचालित हुँदै आएका छन्। मरेको घोडालाई वैदिक विधिअनुसार तलेजु मन्दिर परिसरभित्रै अत्येष्टि गरिएको छ।रासस

0 comments
Write Down Your Responses