पदमुक्त राष्ट्रपतिलाई मासिक एक लाख १० हजार

असोज २५

काठमाडौं– एक महिनाभित्र शीतल निवास छाडनुपर्ने राष्ट्रपति डा. रामवरण यादवलाई चाहिने सुविधाबारे राष्ट्रपति कार्यालयले मन्त्रिपरिषदमा प्रस्ताव पठाएको छ । ‘पद–निवृत्त राष्ट्रपतिका लागि सुविधा प्रबन्धबारे’ शीर्षकमा मुख्यसचिवलाई सम्बोधन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रस्ताव पठाइएको हो । 

मन्त्रिपरिषद्को कार्यालय स्रोतबाट रातोपाटीलाई प्राप्त उक्त प्रस्तावमा निवृत्तभरणको सामान्य सिद्धान्तअनुसार तलबको कम्तीमा आधा रकम पाउने भएकाले सोही अनुपातमा पद–निवृत्त राष्ट्रपतिका लागि मासिक निवृत्तभरणको रकम ६० हजार राखिएको छ । यो प्रस्ताव राष्ट्रपति कार्यालयले असोज २२ गते मन्त्रीपरिषद्मा पठाएको हो ।

 यसैगरी, पद–निवृत्त भए पनि पद–निवृत्त राष्ट्रपतिको भेटघाट, औपचारिक÷अनौपचारिक भ्रमण, राज्यका सामाजिक–सांस्कृतिक लगायत छलफल आदिमा उपस्थित हुन सक्ने कारणले गर्दा अतिथि सत्कारतर्फको खर्चमा हाल प्राप्त रकमको आधा रकम अर्थात् मासिक ५० हजार मागिएको छ । यसरी एकमुष्ठ मासिक एक लाख १० हजार उपलब्ध हुनु उपयुक्त देखिन्छ भन्दै सिफारिस गरिएको छ । पद–निवृत्त हुने राष्ट्रपतिका लागि आवासको व्यवस्था पनि गर्न सिफारिस गरिएको छ ।

 हाल सरकारले यस सन्दर्भमा कुनै पनि पूर्वनिर्णय गरिसकेको छैन । संवैधानिक व्यवस्थाअनुसार वर्तमान राष्ट्रपति पदमुक्त हुने भएमा राष्ट्रपतिका लागि सम्मानजनक सुविधायुक्त आवासको व्यवस्था हुनुपर्ने नै हुन्छ । सवारी–साधनको व्यवस्था पद–निवृत्त राष्ट्रपतिका लागि जम्मा दुईवटा सवारी–साधनको प्रस्ताव गरिएको छ ।

 औपचारिक हिसाबले संलग्न हुनुपर्ने अवस्थामा र फिल्ड भ्रमण जाँदा प्रयोग गर्ने अर्को गाडी समेत दुई गाडीको सुविधा हुनु उपयुक्त नै हुन्छ । पद–निवृत्त राष्ट्रपतिका लागि उपलब्ध हुने सेवा–सुविधाको प्रशासकीय रेखदेख गर्न उनको आवास परिसरमा नै रहने गरी एउटा सानो आकारको कार्यालयको स्थापना गर्नु उपयुक्त हुने सिफारिस गरिएको छ ।

 विदेशीसँगको भेटघाट र परिआउने व्यक्तिगत सद्भावपूर्ण पत्राचार गर्ने लगायतको प्रशासकीय प्रबन्ध गर्न एक सहसचिव स्तरको कर्मचारीको नेतृत्वमा कर्मचारी समूह रहने प्रस्ताव गरिएको छ ।

0 comments

Write Down Your Responses