'डिआइजीकी छोरी' भन्दै उनले केटाहरुलाई यसरी ठगिन्

२०७२ पौष २० सोमबार

काठमाडौँ :

 काठमाडौँ र पोखरालगायतका विभिन्न स्थानमा चिकित्सक तथा प्रहरी नायव महानिरीक्षक (डिआइजी) की छोरी हुँ भन्दै ठगी गर्दै हिँडेकी भगवती केसीलाई महानगरीय प्रहरी परिसरले सोमबार सार्वजनिक गरेको छ ।

 गुल्मी, हस्तिचौर–९ की २३ वर्षीया केसीले चिकित्सक सुहाना, अदिती, सृष्टिलगायतका नक्कली नामको प्रयोग गरी विभिन्न कलाकर्मी, युवा तथा होटल व्यवसायीलाई ठगी गर्दै आएको आरोपमा परिसरले उनलाई हिजो सिनामङ्गलबाट पक्राउ गरेको हो ।

 उनले ठगी गर्नका लागि चिकित्सक सुहाना केसीको नाममा नक्कली आइडी, फेक भाइबर नम्बर प्रयोग गरेको खुलेको छ । उनले विभिन्न व्यक्तिका कागजपत्र र फोटो राखी नेपाल टेलिकम र एनसेलका सिमको प्रयोग गर्ने गरेको प्रहरीले पत्ता लगाएको छ । केसीले विभिन्न होटलमा गई म डिआइजी सनत केसीको छोरी हुँ भनी परिचय दिई होटलको बिल नतिरी ठगी खाने गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ ।


 उनले विभिन्न व्यक्तिलाई म डिआइजी हुँ मेरो छोरीको रेखदेख गरिदिनु भनी फोन गर्न लगाउने गरेको पाइएको प्रहरीले जनाएको छ । अभियुक्त केसीले एक वर्षअघि पोखराका विभिन्न अस्पतालमा चिकित्सक बनेर बिरामीको जाँच गरेको बहाना बनाएर पनि सर्वसाधरणलाई ठगेकी थिइन् ।

 चिकित्सकसँग समेत विवाह गर्ने भन्दै सँगै बसी ठगी गर्दै आएको र सोबारे पोखराको स्थानीय पत्रिकाले समाचार प्रकाशन गरेपछि उनी काठमाडौँ छिरेको प्रहरीले बताएको छ । काठमाडौँ आएपछि पनि उनले विभिन्न चिकित्सक, युवक तथा होटलमा ठग्दै आएको खुलेको छ ।

 रासस

0 comments

Write Down Your Responses