८० हजार नक्कली नोटसहित युवक समातिए

काठमाडौँ : नक्कली नेपाली नोटको कारोबार गर्ने वागेश्वरी–७ नुवाकोट निवासी २० वर्षीय दीपक न्यौपाने पक्राउ परेका छन् । गोंगबु बसपार्क नजिकैको आकाशे पुलमा एक हजारका ८० थान नक्कली नोटसहित भदौ १४ गते पक्राउ परेका न्यौपानेलाई बुधबार महानगरीय प्रहरी परिसर टेकुमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरियो । 
 उनी कार्यरत फोटोकपी पसलमा थप ५५ थान तयारी अवस्थामा र १३ थान नक्कली नोट एकातर्फ मात्र फोटोकपी गरेको अवस्थामा भेटिएको छ । हाल नेपालटार बस्दै आएका न्यौपाने बाफलस्थित ‘प्राइम लाइफ वैदेशिक रोजगार म्यादी जीवा बिमा’ मा काम गर्ने गरेको र सोही स्थानबाट उनले फोटोकपी गरी नक्कली नोट बनाउने गरेका प्रहरीले जनाएको छ ।
 न्यौपानेलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेलको टोलीले पक्राउ गरेको हो ।राजधानीका भिडभाड हुने ठाउँमा यस्ता नोट कारोबार गरी उनले एक हजार नक्कली बराबर डेढ सय सक्कली नोट साट्ने गरेको अनुसन्धानका क्रममा खुलेको नायब उपरीक्षक पोखरेलले बताए ।

 स्नातक तहमा अध्ययनरत अभियुक्त न्यौपानेले कसैले सिकाएर नभएर आफैँले चलाउन नक्कली नोट छापे पनि आफूले हालसम्म प्रयोग नगरेको बताए । अभियुक्त न्यौपानेलाई मङ्गलबार काठमाडौँ जिल्ला अदालतबाट खोटा चलनअनुसार मुद्दा अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses