बाबुराम : माओवादीमा रहुञ्जेल सौतेनी व्यवहार
यस्तो छ प्रचण्ड-बाबुराम सहकार्यको नालीबेली
२०७२ असोज ९ गते २०:४२ मा प्रकाशित
अरुण बराल/ टिप्पणी
९ असोज, काठमाडौं ०५२ सालमा जनयुद्ध सुरु हुँदासम्म धेरै मानिसहरुले प्रचण्डको नामै सुनेका थिएनन् । कतिपयले ‘प्रचण्ड’ भनेको वास्तविक मान्छे नभई ‘भूमिगत गिरोह’ वा ज्ञानेन्द्रलाई सम्झन्थे भने माओवादी पार्टीलाई बाबुराम भट्टराईको पर्यायवाची ठान्थे । यद्यपि पार्टीभित्र चाँहि बाबुराममाथि गरिने व्यवहार ‘दोस्रो दर्जाको नागरिक’ जस्तै थियो ।
भूमिगत कालमा पार्टी बाहिर बाबुरामको चर्चा जति बढ्दै गयो, पार्टीभित्र चाहिँ उनलाई बदनाम मात्रै गरिएन, ०६१ सालसम्म आइपुग्दा रोल्पाको एउटा घरमा बन्दी बनाएर राखियो । बाबुरामका समर्थक देवेन्द्र पौडेल, देवेन्द्र पराजुली लगायतका नेतालाई पार्टीभित्रै चरम शारीरिक यातना दिइयो ।
प्रचण्डसँग २५ वर्षसम्म सँगै रहेर पनि सौतेनी छोराको जस्तो व्यवहार खेप्दै आएका डा. भट्टराईको तीनदशक लामो राजनीतिक जीवन निकै उतार-चढावपूर्ण छ । डा. भट्टराई माओवादीमै लागेर प्रधानमन्त्रीसम्म बन्न सफल भए । र, सँगैसँगै आँशु खसाल्नुपर्ने अवस्थामा पनि पुगे ।माओवादीमा रहँदा डा.भट्टराईको जीवनका केही ‘पहेली’हरु यस्ता छन्
-प्रचण्डसँग एकता गर्नुअघिगोरखाको किसान परिवारमा जन्मिएका डा. बाबुराम भट्टराई एलएलसीका बोर्डफस्ट हुन् । ६ वर्षकै उमेरदेखि राजाविरोधी भावना जागृत भए पनि स्कुले जीवनमा राजनीतिमा सक्रिय नभएका डा. बाबुराम भट्टराई पढाइमा अब्बल थिए ।
एसएलसीपछि डा. भट्टराईले काठमाडौं आएर अमृत साइन्स कलेजमा पढे । त्यहीँ पढ्दापढ्दै राजनीतिमा सक्रियता देखाउने गरे पनि उनले भारतमा गई अध्ययन गर्न थालेपछि औपचारिक राजनीति थालेका हुन् ।
आईएस्सीमा सर्वप्रथम भएपछि उनी कोलम्बो प्लानअन्तरगत इन्जिनियरिङ्ग पढ्न भारतको चण्डीगढ गए । त्यतिबेला तत्कालीन भारतका प्रधानमन्त्री मनमोहन सिंहले सोही कलेजमा पढाउँथे ।
चण्डीगढमा ०३३ सालमा भट्टराईकै नेतृत्वमा नेपाली विद्यार्थी संघ भन्ने संगठन स्थापना भयो । उनी विद्यार्थी राजनीतिमा सक्रिय बने । ०३४ मा इन्जिनियरिङ्गमा ग्य्राजुयट गरिसकेपछि पोष्ट ग्य्राजुयट गर्न दिल्ली गएका बाबुरामले आफ्नो योजनामा अखिल भारत नेपाली विद्यार्थी संघ गठन गरे । भारतमा प्रवासी नेपाली विद्यार्थीहरुको यो पहिलो संगठन थियो ।
वि.सं.०३७ सालमा बरिष्ठ वाम नेता मोहनविक्रम सिंहमार्फत् पार्टीको सदस्यता लिएका बाबुराम ०३७ पछाडि अखिल भारत नेपाली एकता समाजको पश्चिमोत्तर समितिको सभापति बनेका उनी त्यसपछि मजदुरहरुका बीचमा राजनीतिक काममा खटिएका थिए । उनी ०४२ सालमा दिल्लीबाट काठमाडौं फर्किए र मसालको काठमाडौं जिल्ला सेक्रेटरी एवं बाग्मती ब्यूरो सदस्य भएर कम्युनिष्ट पार्टीको राजनीति सुरु गरे ।
मसाल छाडेर ०४८ एकताकेन्द्रसँग एकता गरेपछि प्रचण्ड र बाबुरामको औपचारिक सहकार्य सुरु भएको हो । ०५१ सालदेखि माओवादी जनयुद्ध शुरु भएपछि प्रचण्ड बाबुराम एकता अरु निकट भयो ।
त्यसो त पञ्चायती व्यवस्थाविरुद्ध जनआन्दोलन हुँदा बाबुराम भट्टराई र प्रचण्ड एउटै मोर्चामा थिए । मोहनविक्रम नेतृत्वको पातलो मसाल, प्रचण्ड नेतृत्वको मोटो मशाल र रुपचन्द्र विश्वकर्मा नेतृत्वको पार्टी आपसमा मिलेर ‘संयुक्त राष्ट्रिय जनआन्दोलन’ नामक साझा मोर्चा बनाइएको थियो, जसको संयोजकमा डा. भट्टराई नियुक्त भएका थिए । तर, डा. भट्टराईको पार्टी आवद्धता चाँहि प्रचण्डसँग नभई मोहनविक्रमसँग थियो ।
बहुदल आएपछि डा. भट्टराईले संविधानसभाको पक्षमा आवाज उठाए भने प्रचण्डले संविधानसभाको कुरा गर्नेहरुलाई संविधानसभा विरोधी भन्दै लेख लेखे । संविधानसभाकै नाराका कारण उनीहरुको मोर्चा निश्क्रिय भयो ।
बुहदल आएपछि ०४८ सालमा प्रचण्ड र निर्मल लामा, नारयाण्काजी श्रेष्ठहरुवीच पार्टी एकता भई नेकपा एकताकेन्द्र गठन भयो ।
डा. बाबुराम भट्टराईले पनि मोहनविक्रम सिंहको पार्टीबाट विद्रोह गरे । त्यसपछि हरिबोल गजुरेलको नेतृत्वमा डा.बाबुराम भट्टराई, टोपबहादुर रायमाझी, राम कार्की लगायतका नेताहरु प्रचण्डको पार्टीमा विलय भए । त्यहीँदेखि ०७२ सालसम्म प्रचण्ड र बाबुराम एउटै पार्टीमा लामो समयसम्म रहे ।काठमाडौंको त्यो ‘दाह्रीवाल’ बाबुरामबाबुरामहरुसँग पार्टी एकता गरेपछि पनि प्रचण्ड भूमिगतै रहे भने बाबुरामको नेतृत्वमा संयुक्त जनमोर्चा नेपाल गठन भयो ।
संयुक्त जनमोर्चाले ०४८ सालको चुनावमा ९ सीट जितेको थियो । लीलामणि पोख्रेलहरुले त्यसबेला संसदमा भूमिका खेलेका थिए भने डा. भट्टराईले सडकको मोर्चा सम्हालेका थिए । चे ग्वेभाराका जस्तै दाह्री पालेका बाबुरामले जुलसमा मसाल बोकेको तस्वीरहरु अहिले पनि हेर्न पाइन्छन् ।
बागबजारको भित्तोमा नारा लेख्न खोज्दा एमाले अखिलका रुपनारायण श्रेष्ठहरुले बाबुराममाथि खुकुरी प्रहार गर्न खोजेको काण्ड त्यही बेलाको हो ।
जनादेश साप्ताहिक र झिल्कोमा लेखहरु लेखिरहने डा. भट्टराईलाई प्रचण्ड र मोहन वैद्यहरुले आफ्नो पार्टीमा लिएर वैधानिक मोर्चाको जिम्मेवारी दिए पनि एकदमै शंकाको नजरले हेर्थे । बाबुरामलाई उनीहरु शहरिया बुद्धिजीवी एवं बुर्जुवाका रुपमा हेर्थे र अविश्वास गर्थे ।
यही क्रममा जनयुद्ध सुरु गर्नुअघि केही समय बाबुरामलाई संयुक्त मोर्चाबाट हटाएर पम्फा भुसाललाई संयोजक बनाइएको थियो । पछि फेरि बाबुरामलाई नै पुनर्बहाली गरियो ।
बाबुराम भाग्ने प्रचण्डको आशंका
माओवादीले जनयुद्ध सुरु गर्नुअघि सरकारलाई ४० बुँदे मागपत्र बाबुरामकै नेतृत्वमा बुझाइएको थियो । तर, प्रचण्ड र वैद्यलाई के आशंका थियो भने जनयुद्ध सुरु भएपछि बाबुरामले पार्टी छाड्नेछन् र युद्धमा जान डराउने छन् ।
तर, बाबुरामले काठमाडौंको घर बेचेर सपरिवार जनयुद्धमा जाने निर्णय गरे । हिसिला पनि कलेजको जागिर छाडेर भूमिगत भइन् । जनयुद्ध कालभरि बाबुाराले प्रचण्डलाई साथ दिए ।
उनी जनयुद्धमा लाग्दैनन् भन्ने प्रचण्ड समूहको अनुमान गलत सावित भयो । बरु साथ दिने ठानिएका नारायणकाजी श्रेष्ठहरुको समूह जनयुद्धको कार्यदिशासँग असहमत भई अलग्गियो ।
प्रचण्डपथसँगै किचलोजनयुद्ध सुरु भएको अढाइ वर्षपछि प्रचण्ड र बाबुरामवीच दुई लाइन संघर्ष देखापर्यो । पार्टी बाहिर बाबुरामको नाम र तस्वीर हाइलाइट हुन थालेको थियो भने प्रचण्डको तस्वीरसम्म बजारमा सार्वजनिक भएको थिएन ।
प्रचण्ड कोहो, ज्ञानेन्द्र पो हो कि भन्ने आशंका आम मानिसहरुमा थियो ।
फलस्पस्वरुप ०५४ को चौथो विस्तारिक बैठकले प्रचण्डको फोटो सार्वजनिक गर्ने, पार्टीमा प्रचण्डलाई प्राधिकार सुम्पने र ‘प्रचण्डपथ’ अंगीकार गर्नेबारे छलफल अघि बढ्यो, जसलाई बाबुरामले व्यक्तिवादको संज्ञा दिँदै विरोध गरे । तर, प्रचण्डलाई नेतृत्व स्थापित गर्ने र नेतृत्व केन्द्रीकरण गर्ने यो प्रस्तावलाई ०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनले औपचारिकता दियो ।
यो निर्णयपछि विस्तारै बजारमा प्रचण्डको व्यक्तित्वले बाबुरामको नामलाई रिप्लेस गर्न थाल्यो । पार्टीमा प्रचण्डको पकड पहिल्यैदेखि एकछत्र थियो । बाबुरामलाई तलदेखि माथिसम्म शंकालु नजरले हुर्ने स्कुलिङ थियो ।
पार्टीमा भट्टराईको वैचारिक हस्तक्षेप
संगठनमा कमजोर प्रभाव भए पनि प्रचण्डले बाबुरामलाई नीति निर्माणको उच्च तहमा लगेर सम्मान गरेका थिएनन् भन्नु प्रचण्डमाथिको अन्याय हुनेछ ।
विस्तारै बाबुरामले युद्धमा रहेको माओवादी पार्टीलाई संविधानसभाको नारामा सहमत गराए । कांग्रेस र एमालेसँग मिलेर लोकतन्त्रको नारामा सहकार्य गर्नुपर्ने १२ बुँदे समझदारीसम्म तानेर ल्याए ।सरकार र माओवादीवीचको वार्ताको समेत नेतृत्व गरेका भट्टराईले नै माओवादीलाई शान्ति र संविधानको एजेन्डामा तानेर ल्याएका हुन् । तर, उनको लाइनमा प्रचण्ड कन्भिन्स नभएको भए यो सम्भव थिएन । माओवादीमा भन्ने गरिन्थ्यो, वार्ता, शान्ति र संविधानको लाइन बाबुरामको हो र विद्रोहको लाइन मोहन वैद्यको हो ।
तर, वैद्य भारतमा जेल परेको मौकामा सिंगै माओवादीलाई शान्ति र संविधानको कार्यदिशामा डोर्याउने र प्रचण्डलाई आफ्नो लाइनमा हिँडाउन बाबुराम सफल भएकै हुन् ।
पार्टीभित्रको फरक मत नेपाल साप्ताहिकमा सार्वजनिक गरेको लगायतको आरोपमा रोल्पाको एउटा घरमा बाबुरामलाई लालसेनाले थुनेर राखेका बेला ज्ञानेन्द्रले सत्ता हातमा लिएका थिए । ज्ञानेन्द्रले माघ १९ को कु गर्दा रोल्पामा फुण्टीबाङमा माओवादीको बैठक चलिरहेको थियो । ज्ञानेन्द्रले वार्तामा बोलाउने प्रचण्डलाई आशा थियो, तर उनले माओवादीलाई आतंककारी घोषणा गरिदिएका थिए ।
त्यतिबेला पार्टीमा प्रचण्ड राष्ट्रवादीसित मिलेर भारतसँग सुरुङ युद्ध गर्नुपर्ने लाइनमा थिए भने बाबुराम चाँहि कांग्रेस र एमालेसँग मिलेर ज्ञानेन्द्रको निरंकुशताविरुद्ध लड्नुपर्ने लाइनमा थिए ।
अन्ततः ज्ञानेन्द्रले माओवादीप्रति कडा रुप अपनाएपछि प्रचण्डले बाबुरामको कारवाही फुकुवा गरे । बाबुरामले प्रचण्डलाई दिल्ली लिएर गए र त्यसपछि १२ बुँदे समझदारी भयो र राजनीतिले अहिलेसम्मको कोर्ष समात्यो ।शान्ति प्रक्रियामा आएपछि पनि मोहन वैद्य समूहले पार्टीलाई विद्रोहको लाइनमा तान्न खोज्यो । यही क्रममा पार्टी फुट्यो । बाबुरामले भने संविधानसभाबाट संविधान बनाउने लाइनलाई अघि बढाए । प्रचण्ड र बाबुराम यसवीचमा एक साथ रहे ।
सेना समायोजन भयो र संविधानसभाको कोर्ष पूरा भयो ।
शान्तिकालको खटपट र धोबीघाट
शान्ति प्रक्रियामा आएपछि पनि प्रचण्ड र बाबुरामको सम्बन्ध उतार चढावपूर्ण रह्यो । बाबुरामले पार्टीभित्र पटक-पटक फरक मत राख्दै आए । यद्यपि हेटौंडामा आयोजित महाधिवेशनमा भने प्रचण्ड र बाबुरामवीच राजनीतिक एकता भयो ।
यसैक्रममा ललितपुरको धोबीघाट काण्ड एमाओवादीभित्रको चर्चित मानिन्छ ।
वैद्यसमूह र नारायणकाजी समूहले मिलेर धोबीघाटमा आयोजना गरेको भेलाबाट पार्टीको नेतृत्व हत्याउन खोजिएको आरोप प्रचण्डले बाबुराममाथि लगाए ।
हेटौडा महाधिवेशनमा प्रचण्ड र बाबुरामवीच दुरी कम भए पनि फेरि अन्तरविरोध चुलियो । यसैक्रममा बिराटनगरमा आयोजित राष्ट्रिय सम्मेलन नै छाडेर बाबुराम समूह बाहिरियो । त्यसयता भट्टराई समूहले समानान्तर कमिटी चलाएको आरोप निरन्तर खेप्दै आयो ।
प्रधानमन्त्रीका रुपमा १८ महिना
माओवादी शान्ति प्रक्रियामा आइसकेपछि भएको ऐतिहासिक पहिलो संविधानसभा निर्वाचनमा सबैभन्दा बढी मत ल्याएका बाबुराम ०६८ सालमा नेपालको ३५ औं प्रधानमन्त्री भए । वि.सं.०६८ साल भदौ ११ गते व्यवस्थापिका संसदमा भएको निर्वाचनबाट बहुमत प्राप्त गरी मुलुकको ३५ औं प्रधानमन्त्री बनेका उनले करिव १८ महिना राज्य सञ्चालन गरे ।
भट्टराईकै प्रधानमन्त्रित्वकालमा माओवादी सेनाका लडाकूहरुको नेपाली सेनामा समायोजन र हतियार व्यवस्थापनसहित शान्ति प्रक्रियाको सबैभन्दा महत्वपूर्ण काम सम्पन्न भयो । सरकारको नेतृत्व गर्दा काठमाडौंको सडक विस्तारसहितका महत्वपूर्ण काम गरी चर्चा बटुलेका भट्टराई पहिलो संविधानसभाबाट संविधान बनाउन असफल बने ।
भट्टराईकै कार्यकालमा पहिलो संविधानसभा विघटन भएपछि भए मुलुककै सबैभन्दा ठूलो पार्टी विभाजित भएर छिन्नभिन्न भयो । यद्यपि दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न भई नयाँ संविधान जारी भइसकेपछि तिनै एकीकृत माओवादीका नेता भट्टराईले अन्ततः असोज ९ गते शनिवार माओवादी पार्टी नै परित्याग गर्न पुगेका छन् ।
साथीहरु छुटे, भविश्य अन्यौल
एमाओवादीभित्र टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, हिसिला यमी, प्रभु साह, गंगानारायण श्रेष्ठ, रामरिझन यादव, वामदेव क्षेत्री, डोरप्रसाद उपाध्याय, हेमराज भण्डारीलगायतका नेताहरु डा. भट्टराईका निकट मानिन्छन् । तर, पार्टी परित्याग गर्दा भट्टराईले एक्लै छाडेका छन् ।
पछिल्लो समयमा मधेसी नेता रामचन्द्र झा, रामकुमार शर्मा, महेन्द्र पासवान लगायतले डा. भट्टराईलाई साथ दिने देखिएको थियो ।
कतिपयले भट्टराईका सहयोगीहरु अब के गर्लान् भन्ने प्रश्न पनि उठाएका छन् यतिबेला । पार्टी परित्याग गर्दा डा. भट्टराईले अब के गर्ने भन्ने खासै खुलासा गरेका छैनन् । उनले सामान्य नेपाली नागरिकका रुपमा देशको सेवा गर्ने बताएका छन् ।
पार्टी छाडेको घोषणासँगै अब डा. भट्टराईमाथि पार्टी भित्र र बाहिरबाट चर्को आलोचना वा टिप्पणी भइहरेको छ र हुनै नै छ । तर, त्यो भन्द रोचक प्रश्न त यो छ कि बाबुराम भट्टराईविनाको माओवादी पार्टी अब कस्तो होला ?
कसैले माने पनि या नमाने पनि माओवादी आन्दोलनमा डा. भट्टराई त्यस्ता पात्र हुन्, जसले माओवादीलाई वौद्धिक वर्गप्रति आकर्षण गराए ।
फिलिपिन्स र पेरुको बाटोमा हिँड्न लागेको माओवादीलाई काठमाडौंसम्म ल्याएर छाडिदिए । यसक्रममा उनले प्रचण्डको ढाडमा टेकेर संविधानसभा र गणतन्त्रको आफ्नो मिसन पूरा गराई माओवादीबाट विदा भए ।बाबुराम भट्टराई त्यस्ता अभागी पात्र हुन्, जसले २५ वर्षको उर्जाशील समय बिताएको आफ्नै पार्टीभित्र सधैं अपमान र बदनामीको शिकार बन्नुपर्यो ।
र, अहिले फेरि माओवादीमा लगाएका गुन बिर्सेर उनीमाथि माओवादीहरुले गाली बर्साइरहेका छन् । भनिन्छ, कम्युनिष्टको जातै बैगुनी । काम गुरुञ्जेल आफ्नो, छाडेपछि पराई ।
अब सामान्य नागरिक भएर बस्छु भन्ने आफ्नो सहयात्रीलाई धन्यवाद दिने संस्कार कम्युनिष्टहरुको स्कुलिङमा छैन । त्यसैले अब निश्चित छ, बाबुरामले आफ्नै सहयात्रीको व्यवहारबाट धेरै रुनुपर्ने देखिन्छ ।
0 comments
Write Down Your Responses