आजदेखिसंविधानसभामामतदान

२०७२ भाद्र२५ शुक्रबार

काठमाडौं:- भदौभित्र नयाँ संविधान जारी गर्ने उद्देश्यसहित संविधानसभामा शुक्रबारदेखि संविधानको विधेयकमाथि मतदान हुने भएको छ। तीन दलका शीर्ष नेताले धारणा राखेपछि शुक्रबार दिउँसो विधेयकमाथि मतदान सुरु हुने सभाध्यक्ष सुवास नेम्बाङले बताए।विधेयकमाथिको दफाबार छलफल लगभग बिहीबार सम्पन्न भएको छ।

 दफाबार छलफलमा बोल्न बाँकी ६ जना सभासद् र तीन दलका शीर्ष नेताले धारणा राखेपछि शुक्रबार अपराह्न २ बजे मतदान हुने नेम्बाङले बताए। चौतर्फी दबाबका बीच पनि संविधान निर्माण प्रक्रिया नरोक्ने तीन दलको अडानपछि सभाध्यक्षले विधेयकलाई मतदानमा लैजान लागेका हुन्। पहिलो चरणमा विधेयकमाथि परेका ५४ वटा संशोधनलाई मतदानमा लगिनेछ। 

'विधेयकमा परेका संशोधन स्वीकार गर्ने वा नगर्ने भनेर क्रमबद्ध संविधानसभामा मतदान गरिन्छ,' नेम्बाङले भने, 'त्यसपछि पारित भएका संशोधनलाई विधेयकको अंग बनाउँदै विधेयकका प्रत्येक धारालाई मतदानमा लगिन्छ।' संविधानका प्रत्येक धारा पारित गर्न हाल कायम पाँच सय ९८ सभासद्को दुई तिहाइ करिब चार सयजना उपस्थित बैठकको दुई तिहाइले पारित गरे पुग्ने व्यवस्था संविधानसभा नियमावलीमा छ। 

ध्वनिमतबाट हुने मतदानमा चित्त नबुझे १० प्रतिशत सभासद्ले मतविभाजन माग्न पाउने व्यवस्था छ। तर विधेयकमाथि असहमति जनाउँदै आएका मधेस केन्द्रित दल र राप्रपा नेपालले प्रक्रियामा भाग नलिने जनाएका कारण ध्वनिमतका आधारमा फटाफट धारा पारित हुने अनुमान गरिएको छ।
 संविधानको पूर्ण विधेयक पारित गर्न भने कायम सदस्य संख्याको दुई तिहाइ नै चाहिन्छ। हाल कायम पाँच सय ९८ मध्ये पाँच सय १५ अर्थात् ८६.१५ प्रतिशतले मात्र संविधान निर्माण प्रक्रियामा भाग लिइरहेका छन्। एमाओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार संविधानसभामा बोल्ने क्रममा पार्टीको फरक मत दर्ता गराउने भएका छन्।

 प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीले पनि देशभर जारी आन्दोलनलाई सम्बोधन गर्नेगरी संविधानसभामा धारणा राख्ने भएका छन्।दफाबार छलफलमा बोल्दै कांग्रेस र एमालेका नेताहरूले कुनै पनि हालतमा संविधान निर्माण प्रक्रिया नरोकिने बताए। कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जनताले संविधान बनाउन पठाएका प्रतिनिधिले संविधान छोड्न नमिल्ने भन्दै सबैका भावना समेट्दा केहीका छुट्न सक्ने बताए। 
 'कतिपय बुँदामा मेरो पनि असहमति छ,' पौडेलले भने, ‘यसपटक पनि संविधान जारी गरेनौं भने हाम्रो इज्जत र प्रतिष्ठा के हुन्छ ?' एमाले उपाध्यक्ष भीम रावलले कुनै पनि बहानामा संविधान निर्माण प्रक्रिया रोक्न नमिल्ने बताए। ‘छिटो संविधान ल्याऊ भनेर जनताले हामीलाई पठाएका हुन्,’ रावलले भने, ‘हाम्रा कुरा नमाने देश टुक्र्याउँछौं भन्ने कुरा जनताको आवाज हो र?' त्यसअघि तीन दलको संयुक्त संशोधन प्रस्ताव पेस गर्दै कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले संविधान जारी हुँदैमा कोही पनि आत्तिनु नहुने बताए। 

एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले चाँडो संविधान जारी नभए संघीयता धरापमा पर्ने आशंका व्यक्त गर्दै संविधान जारी गर्दा थारू र मगर समुदायका माग सम्बोधन गर्नुपर्नेमा जोड दिए। मधेस केन्द्रित दलले साँचो अर्थमा वार्ताबाट समाधान खोजेका भए दुईतीन दिन प्रक्रिया रोकेर वार्ता गर्दा फरक नपर्ने पोखरेलको भनाइ थियो। एमाओवादीको एकसूत्रीय एजेन्डा संविधान जारी गर्ने भएकाले संविधानका अधिकांश मुद्दामा असहमतिबीच पनि सहमति जनाइएको पोखरेलले बताए।

माले प्रमुख सचेतक अग्नि खरेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागन गर्नेगरी बन्न लागेको संविधानलाई केही होइन भनेर प्रचार नगर्न आग्रह गरे। एमाले सभासद् प्रेम आलेले जातीय प्रदेशका कारण पहिलो संविधानसभा विघटन भएको उल्लेख गर्दै संविधान आउन लागेको बेला जातीयताको कुरा नगर्न आग्रह गरे। 'पाँच प्रतिशतभन्दा कम मगर जनसंख्या रहेको ठाउँबाट म चुनाव जितेर आएँ,' आलेले भने, 'जातीयताको कुरा गर्नेले मबाट पाठ सिकून्।'

0 comments

Write Down Your Responses