उपराष्ट्रपति पासाङको यात्रा: ब्यारेक आक्रमणदेखि सेनाको सलामीसम्म !
२०७२ कार्तिक १४ गते १७:०८ मा प्रकाशित
१४ कात्तिक, काठमाडौं - पूर्वलडाकू कमाण्डर नन्दकिशोर पुन पासाङ नेपालको दोस्रो उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । सशस्त्र द्वन्द्वका बेला लडाकू कमाण्डरको भूमिमा रहेर सेनाका ब्यारेकहरुमा आक्रमणको नेतृत्व गरेका पासाङलाई अब नेपाली सेनाका जर्नेलहरुले सलामी ठोक्नुपर्ने भएको छ ।
उपराष्ट्रपति पासाङ १० वर्ष सशस्त्र द्वन्द्वमा माओवादीले बनाएको जनमुक्ति सेनाका कमाण्डर थिए ।
एक समय लडाकूको कमाण्डर रहेका ५० वर्षका उनी मुलुकको सर्वोच्च मर्यादाक्रममा दोस्रो पद उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
सामान्य रुपमा हेर्दा एमाओवादीले पार्टीभित्रको व्यवस्थापन मिलाउन उनलाई उम्मेदवार बनाएको थियो । तर, उनले उपराष्ट्रपतिको चुनावै जितेर आफूलाई लडाकू कमाण्डरबाट संवैधानिक उच्च ओहोदाको पदाधिकारी बनाउन सफल भएका छन् ।
शान्ति प्रक्रियामा आएपछि कुनै पनि लाभको पदमा नबसेका पासाङलाई कुनै न कुनै जिम्मेवारी दिनु आवश्यक रहेको एमाओवादी नेताहरुले महसुस गरेका थिए । जुन शनिबारदेखि पूरा भएको छ ।
दोस्रो संविधानसभाको चुनावमा काठमाडौं क्षेत्र नं ४ मा गगन थापासँग पराजय व्यहोरेका पासाङले यसअघि मन्त्री हुने चाहना पनि व्यक्त गरेका थिए । तर, गैरसांसद मन्त्री हुन नपाउने व्यवस्थाका कारण प्रचण्डले पासाङलाई उपराष्ट्रपतिको उम्मेद्वार बनाएर व्यवस्थापन गरे ।
सामान्यतः एमाओवादीको अर्को कुनै नेता र पासाङ उपराष्ट्रपति हुँदा खास भिन्न नहोला । तर, सारमा हेर्ने हो भने यसको ठूलो अर्थ रहन्छ । पासाङलाई उपराष्ट्रपति बनाएर एमाओवादीले नबुझिने गरी छोटो योजनामै जनयुुद्धलाई अनुमोदन गराएको छ । किनकि पासाङ माओवादी युद्धका कमाण्डर हुन् । अब उनी उपराष्ट्रपति मात्र रहेनन्, । भोलिका दिनमा पूर्वउपराष्ट्रपति भएपछि पनि उनलाई नेपाली सेनाका प्रत्येक मानिसले सलाम गर्नुपर्छ ।
पूर्वजर्नेलहरुले पनि उनलाई सलाम गर्नेछन् ।
यद्यपि त्यो सलाम पूर्वलडाकू कमाण्डर पासाङलाई होइन, उपराष्ट्रपति पासाङलाई गरिएको हुनेछ । यसअघि माओवादीका सुपि्रम कमाण्डर प्रचण्ड प्रधानमन्त्री भइसकेका छन् ।
राजनीति गर्नेहरुका लागि यसको ठूलो अर्थ पनि हुन्न । हिजो गाविस अध्यक्ष जितेको मान्छे, आज संसद हुन्छ र भोलि उच्च ओहदाहरुमा पुग्न सक्छ । तर, सैन्य संरचनामा यसको ठूलो अर्थ रहने जानकारहरु बताउँछन् ।
को हुन् पासाङ ?
रोल्पाको ग्रामीण इलाकामा जन्मेका पासाङको राजनीतिक जीवन ०३६ सालदेखि सुरु भएको थियो । उनी ०३७ सालमा राङसी विद्यालय इकाइ कमिटीका अध्यक्ष भए । ०३९ सालमा लिवाङमा पढ्दै गर्दा उनी अखिलको प्रथम उपकेन्ऽीय सम्मेलनको रोल्पा जिल्ला प्रतिनिधिका रुपमा चुनिए ।
विद्यार्थी भएर कम्युनिस्ट राजनीति गरेको आरोपमा स्कूल वा राजनीति छाड्नुपर्ने चेतावनीपछि उनी लिवाङ छोडेर पढाइका लागि थवाङ गए ।
०४२ सालमा उनले थवाङबाट एसएलसी उत्तीर्ण गरे । दाङमा आइएसम्मको अध्ययन गरेपछि ०४३ सालमा आˆनै गाउँ राङसीमा शिक्षक बनेर फर्किई शिक्षक सङ्गठनमा आवद्ध भएका थिए ।
पासाङलाई ०४१ सालमा विद्यार्थी छँदै थवाङको पुलिसद्वारा उनलाई तीन दिन चौकीमा राखेर यातना दिइएको थियो । ०४८ सालमा १३ दिन लिवाङ पुलिस हिरासतमा बसेका पासाङलाई पछिल्लो चरणमा एकैचोटि २५/३० वटा मुद्दा लगाइएको थियो ।
दाङ क्याम्पसमा पढ्दै गर्दा ०४६ सालमा उनी विद्यार्थी क्याम्पस इकाइ अध्यक्ष भए । त्यही क्रममा उनीमाथि अनेक मुद्दा लग्यो ।०४६ सालमै पार्टी सदस्यता प्राप्त गरी उनी एकता महाधिवेशनपछि बनेको नेकपा एकता केन्ऽको पार्टी सदस्य र युवक संगठनको सदस्य भए । ०४८ मा उनी पार्टीको पूर्णकालीन सदस्यभई भूमिगत राजनीतिमा प्रवेश गरे । ०५१ मा उनलाई प्रहरीको गोली समेत प्रहार भएको थियो । देब्रे हातमा गोली लागेको थियो ।नेकपा एकताकेन्द्र बनेपछि उनी रोल्पा जिल्लाको पहिलो जिल्ला कमिटी सदस्य भए ।
जनयुद्धको तयारीका क्रममा उनी रोल्पा जिल्ला सदस्य, वाइसीएलका अध्यक्ष तथा सैन्य प्रशिक्षक भए ।
त्यसपछि ०५२ सालमा जनयुद्धको थालनीदेखि लडाकु दलको कमाण्डर हुँदै उहाँ ०५५ मा टास्क-फोर्स कमाण्डर र ०५६ मा स्थापित छापामारहरूको पहिलो कम्पनीका कमाण्डर भए । त्यसपछि बटालियन कमिसार, बटालियन कमाण्डर, बि्रगेड कमाण्डर, डिभिजन कमाण्डर हुँदै डेपुटी कमाण्डर र प्रमुख कमाण्डरसम्म भए ।
तत्कालीन जनमुक्ति सेनासँग रहेका ८१ एमएम मोर्टार र त्यसका सेलहरू, टु इन्च मोर्टार र त्यसका सेलहरू, डिर्चाज कम र स्वचालित हतियारका पार्टपूर्जाहरू उनकै निर्देशनमा बनाइएको माओवादी पूर्वलडाकुहरुले दाबी गर्ने गरेका छन् ।
सैन्य ब्यारेकहरुमा आक्रमणको नेतृत्व
पासाङले जनयुद्धका क्रममा आफ्नै नेतृत्वमा भएका आक्रमणहरुबारे पुस्तक नै लेखेका छन् ।
०५२ फागुन १ गते जनयुद्ध सुरु भएको उद्घोष गर्दै भएको चार आक्रमण मध्येको एक होलेरी आक्रमणमा उनी सह-कमाण्डर थिए ।
पश्चिम नेपालमा माओवादीले गरेको ठूल्ठूला आक्रमण उनै नेतृत्व, रेकी र योजनामा भएका थिए । प्रहरीमाथि भएको रोल्पाको होलेरी -दोस्रो, जेलबाङ, घर्तीगाउँ, सल्यानको झिम्पे, जाजरकोटको लाहाँ, पाँचकटिया, रुकुमको महत, तकसेरा, रुकुमकोट उहाँकै नेतृत्वमा भएका हुन् ।
पहिलो सदरमुकाम कब्जा डोल्पाको दुनै, पहिलो क्षेत्रीय सदरमुकाम कब्जा कणर्ालीको जुम्ला पासाङकै फौजी नेतृत्वमा भएका हुन् । दाङको घोराही, अछामको मंगलसेन, अर्घखाँचीको सन्धीखर्क, म्याग्दीको बेनी कब्जा उहाँकै नेतृत्वमा भएका हुन् ।
रोल्पाको गाम, लिस्नेमा तत्कालीन शाही सेनालाई पराजित गर्दा पासाङ नै कमाण्डर थिए ।
जनयुद्धका क्रममा उनले थुप्रैपटक भिडन्तहरुमा उनको मृत्युको खबर आएको थियो, जुन उनले समेत सुन्ने गरेका थिए ।
जनयुद्धमा लडाकूको कमाण्डर रहेका पासाङले शान्ति प्रक्रियामा आएपछि सेना समायोजनमा पार्टी नेतृत्वलाई पूर्ण साथ दिए । उनी शान्ति प्रक्रियामा सघाउन आएको राष्ट्र संघीय मिसन अन्तर्गतको जीएमसीसीको भाइस कमाण्डर थिए ।
पासाङलाई राष्ट्रवादी नेताका रुपमा समेत हेरिन्छ । १७ जेठ ०६९ मा उनको दुवै मृगौला काम नलाग्ने अवस्थामा पुगेको थियो । मृत्युको संघारमा पुगेपछि सरकार र पार्टीले विदेशमा लगेर उपचार गर्ने भन्दा उनले अस्वीकार गरे, र नेपालमै उपचार गर्छु भनेपछि उनलाई धेरैले राष्ट्रवादी नेताका रुपमा हेरेका थिए ।
0 comments
Write Down Your Responses