चीनबाट इन्धन ल्याउन सरकारी पहल जारी राजदूत ऊले ठोस प्रस्ताव आए चीनले तत्कालै इन्धन उपलब्ध गराउने

२०७२ कार्तिक ३ मंगलवार

काठमाडौं : भारतले तीनसाता यता लादेको नाकाबन्दीका कारण मुलुकमा पेट्रोलियम पदार्थको संकट चुलिइरहँदा सरकारले उत्तरी छिमेकी चीनबाट इन्धन ल्याउन कुटनीतिक पहल थालेको छ । नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर चीनबाट इन्धन आयात तत्काल कसरी गर्न सकिन्छ भन्नेबारे छलफल गरेका हुन् । 

 मंगलबार भएको भेटमा राजदूत ऊले नेपालको ठोस प्रस्ताव आए चीनले तत्कालै इन्धन उपलब्ध गराउने बताएको वालुवाटार स्रोतले अन्नपूर्णलाई जानकारी दियो । केही दिनअघि परराष्ट्र मन्त्रालयले चिनिया दूतावासलाई इन्धन आपूर्तिको ब्यबपस्था मिलाइदिन लेखेको पत्रपछि राजदूत ऊले प्रधानमन्त्री ओलीसँग भेटेर इन्धन आपूर्तिबारे छलफल गरेका हुन् ।

 एमाले वरिष्ठ नेता माधव कुमार नेपाल तथा सरकारका मन्त्रीहरुसँग पनि प्रधानमन्त्री ओलीले मंगलबार बिहान चीनबाट इन्धन आपूर्ति गर्नेबारे कुराकानी गरेका थिए । पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भारतले नाकाबन्दी कायमै राखेको तथा इन्धन दिन आनाकानी गरिरहेकाले एकमात्रै विकल्प चीन रहेको सुझाव दिएको स्रोतले बतायो ।

 दुई दिनअघि एमालेकै अर्का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालसँगको भेटमा चिनियाँ राजदूत ऊले सिगात्सेमा रहेको इन्धन भण्डारण केन्द्रबाट केरुङ्तर्फ वितरण हुने पेट्रोलियम पदार्थ नेपाल चीन सीमानाका रसुवागढी हुँदै काठमाडौ ल्याउन सकिने बताएका थिए । तर केरुङ्तर्फको सडक पहिरो झरेर फेरि अबरुद्द भएका कारण इन्धन आपूर्ति गर्न सहज नरहेको सरकारी अधिकारीहरु बताउँछन् ।

0 comments

Write Down Your Responses