माइक खोसाखोस गर्दै सकियो कांग्रेस बैठक, सरकारबारे निर्णय भएन
देउवा भन्छन्- तीनैजना प्रधानमन्त्रीको उम्मेदवार
२०७२ असोज २२ गते १६:०४ मा प्रकाशित
२२ असोज, काठमाडौं-शीर्ष तीननेताले नै प्रधानमन्त्रीको उम्मेदवारमा दाबी गरेपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक माइक खोसाखोससँगै विना निश्कर्ष सकिएको छ ।
बैठकले सरकारबारे निर्णय गर्न असफल भएको छ । बैठकको निर्णयबारे केन्द्रीय सदस्यहरु नै अन्योलमा परेका छन् ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम सकिएपछि उपसभापति रामचन्द्र पौडेलले बोलेका थिए ।
उनले सबैको धारणा कांग्रेसकै नेतृत्वमा सरकार बनाउने आएको भन्दै आफूलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन आग्रह गरे ।
पौडेलले बोल्नुअघि लामो सम्बोधन गरेका वरिष्ठ नेता शेरबहादुर देउवाले संसदीय दलको चुनाव गर्न माग गरेका थिए । सभापति सुशील कोइरालाले भने पार्टी पदाधिकारीहरुबीच सल्लाह गर्दै निर्णय गर्ने सुनाएका थिए ।
तर, रामचन्द्रले प्रधानमन्त्रीको उमेद्वार बनाउन आग्रह गर्नासाथ केन्द्रीय सदस्यहरुले उठेर यो वैठकको निश्कर्ष के हो भनेर प्रश्न गरे ।
लगतै वरिष्ठ नेता देउवाले पौडेलका हातबाट माइक तानेर भने, ‘हामी तीनैजना प्रधानमन्त्रीको उम्मेदरवार । अब अन्य दलसँग छलफल गरेर जसले समर्थन जुटाउन सक्छ, उसलाई नै प्रधानमन्त्री बनाउनुपर्छ ।’फेरि उपसभापति रामचन्द्र पौडेलले देउवाका हातबाट माइक तानेर पदाधिकारी बैठकमा छलफल गरेर फेरि केन्द्रीय समितिमा आउने बताए ।
पार्टीका तीनै नेताले प्रधानमन्त्रीको उम्मेदवार भएको घोषणा गरेपछि बैठक निश्कर्षमा पुग्न नसकेको एक केन्द्रीय सदस्यले अनलाइनखबरलाई जानकारी दिए ।
अदृश्य शक्तिको संकेतको कुरा
दुई दिनसम्म चलेको कांग्रेसको बैठकमा अधिकांश केन्द्रीय सदस्य आफ्नै नेतृत्वको सरकारमा उभिएका छन् ।
शुक्रबारको बैठकमा आनन्द ढुंगाना, दिलबहादुर घर्ती लगायतका नेताहरुले भने पार्टी सभापति कोइरालाकै नेतृत्वमा सरकार गठन गर्नु धारणा राखेका छन् ।
देउवा पक्षले भने तत्काल संसदीय दलको नेताको चुनाव गर्नु पर्ने धारणा राखेका थिए ।
बैठकमा कांग्रेस नेता गगन थापाले भने शीर्ष तीन नेता कांग्रेसको नेतृत्वमा सरकार गठनको पक्षमा देखिएको भन्दै अहिलेसम्म किन चुप बसेको भनेर प्रश्न गरेका थिए ।केन्द्रीय कार्यसमितिको बैठक पर्खिएको पक्कै होइन भन्दै उनले अदृश्य शक्तिबाट संकेत कुरेर बसेको र उसले बहुमत पुर्याइदिने भएपघि अघि सरेको बताए ।
उनले आफ्नो नेतृत्वको सकारका लागि बहुमत नपुगे कांग्रेसको एजेण्डालाई जसले सम्बोधन गर्छ, उसैलाई सम्बोधन गर्नु पर्ने बताए ।
केन्द्रीय सदस्य बलबहादुर केसीले भने तीनै नेताले फरक फरक संकेत आएकाले तीनैले दाबी गरेको बताए ।

0 comments
Write Down Your Responses