रसुवामा बस दुर्घटना हुँदा मृतकको संख्या ३० पुग्यो

१७ कात्तिक, धुन्चे - रसुवाको राम्चेमा मंगलबार बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३० पुगेको छ । १७ पुरुष, १२ महिला र एक बालिकाको मृत्यु भएको हो । मृतकमध्ये रसुवाको गोल्जुङ ५ बस्ने तीन वर्षीया बालिका मिरा टासी घलेको मात्रै सनाखत भएको रसुवा प्रहरीले जनाएको छ । 

अन्यको सनाखत भएको छैन । मृतकमध्ये एकजना निजामती कर्मचारी र एकजना एनजिओमा काम गर्ने कर्मचारी पनि छन् । तर प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले शव आफन्तलाई जिम्मा नलगाइएको भन्दै उनीहरूको परिचय खुलाएनन् । उनले शव पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाउने तयारी भैरहेको जानकारी दिए ।

 काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी आउँदै गरेको ना ३ ख ५७०६ नम्बरको यात्रु बस मंगलबार दिउँसो साढे १२ बजे राम्चेमा दुर्घटना भएको थियो । झण्डै चालीस यात्रु चढेको बस दिउँसो साढे १२ बजे राम्चे गाविस ४ ग्राङ भन्ने स्थानमा दुर्घटना भएको हो ।बस सडकबाट झण्डै २ सय मिटर तल खसेको छ ।

 बस टुक्रा-टुक्रा परेको छ । घाइतेहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ । कसैलाई नुवाकोटको त्रिशुलीमा र कसैलाई जिल्ला अस्पताल धुन्चेमा उपचारका लागि पठाइएको रसुवा प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी उद्धारमा खटिएका छन् ।

0 comments

Write Down Your Responses