अफिसमै श्रीमतीको म्वाइँ खाँदा यो कस्तो आपत् ?

कार्तिक १६ -२०७२ 

आफ्नै श्रीमतीलाई चुम्बन गर्नका लागि के शुभसाइत हेराइराख्नु ? को सँग डराउनु ? सायद यसै भन्नुहोला । तर जे काम पनि गर्नुछ भनेर झ्वाट्टै कुठाउँमा गरिहाल्नु हुँदैन भन्ने सबक सिकाएको छ एउटा घटनाले । आफ्नै श्रीमतीलाई कुठाउँमा चुम्बन गर्दा एकजना पुरुषलाई पर्नु आपत् परेको छ । घटना हो बेलायतको ।


 बेलायतको ब्रिस्टोलस्थित र्याक नामक एक कलसेन्टरमा काम गर्ने मार्टिन सिंह नामका पुरुषले आफ्नै श्रीमतीलाई अफिसभित्रै चुम्बन गर्दा जागिरबाटै हात धुनुपरेको छ । एउटै अफिसमा काम गर्ने श्रीमती रुबीलाई उनले मायाले चुम्बन गरेका थिए । श्रीमती रुबी निकै लजालु रहेको र हालै कम्पनीको अनुगमन विभागमा काम थालेको खुसियालीमा उनले हौसलास्वरुप श्रीमतीलाई चुम्बन गरेका थिए । 

तर कल सेन्टरले सिंहको उक्त कार्यलाई अनुचित व्यवहार ठहर गर्दै जागिरबाट निकालेको छ । मार्टिन सिंहका अनुसार श्रीमती रुबी आफ्नो कार्यकक्षमा छिरेको बेलामा उनले श्रीमतीलाई गालामा चुम्बन गरेका थिए । साथै दुबैजनाले एक अर्काको गाला मुसारेका पनि थिए । फलस्वरुप व्यवस्थापनले उनको उक्त कार्यलाई अनुचित हर्कत ठहर गर्दै सुरुमा चेतावनी दियो र पछि जागिरबाटै निकाल्यो ।

मार्टिन सिंहले आफ्नी पत्नीलाई ग्राहकहरुको अगाडि नराम्रो बचन लगाइएको उनले दाबी गरेका छन् । उनी भन्छन् – यदि मैले चुम्बन गरिरहेको छु त मेरी आफ्नै श्रीमतीलाई गरिरहेको छु, जो म सँग १७ वर्षदेखि सँगै छिन् । जो सँग म सँगै बाँच्ने र सँगै मर्नेछु उनलाई चुम्बन गर्नुमा के गल्ती छ ? आफुलाई जागिरबाट हटाइएकोमा विरोध गर्दै उनले आफुलाई आर्थिक क्षतिपूर्ति वा जागिरमा पुनर्वहाली गर्नुपर्ने माग गरेका छन् । 

तर र्याकले भने मार्टिन सिंहलाई बर्खास्त गर्ने निर्णयको बचाउ गर्दै यसअघि पनि तिनपटक सम्म उनले अनुशासन उल्लंघन गरेको जिकिर गरेको छ । उनले यसअघि गरेका अनुशासनहीन कामहरुमा कार्यालयमा सुरुवाल लगाएर आएको, अफिसमा व्यक्तिगत फोन गरेको तथा अनलाइन भिडियो हेरेको लगायतका छन् ।

0 comments

Write Down Your Responses