गर्भपतनबाट प्रेमिकाको मृत्यु भएपछि.....

२०७२ कार्तिक २३ सोमबार

खोटाङ : असुरक्षित गर्भपतनले प्रेमिकाको मृत्यु भएपछि प्रहरीले प्रेमी र गर्भ पतनको औषधि विक्रेताविरुद्ध मुद्दा दर्ता गरेर कारबाही थालेको छ ।असुरक्षित गर्भपतनले बुइपा–४ की १५ वर्षीया सुनिता राईको मृत्यु भएपछि उनका प्रेमी मङ्गलटार–९ का १९ वर्षीय दीपेन्द्र राई र हलेसीमा औषधि पसल सञ्चालन गर्दै आएका गइन्द्रकुमार राईविरुद्ध प्रहरीले कर्तव्य ज्यानअन्तर्गतको मुद्दा दर्ता गरेर कारबाही थालेको हो ।

 औषधि सेवन गरी गत साउनमा असुरक्षित तरिकाले गर्भपतन गराएकी सुनिताको चार महिनापछि कात्तिक–२० गते मृत्यु भएपछि उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर कारबाही थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताए । 'दीपेन्द्रसँगको प्रेम सम्बन्धपछि रहेको गर्भपतन गराउने क्रममा अधिक रक्तस्राव भएकाले सुनिताको मृत्यु भएको चिकित्सकहरूले पुष्टि गरेका छन्', उनले भने, 'सोहीअनुसार सुनिताका आफन्तले दिएको जाहेरीका आधारमा दुवैजना विरुद्ध कर्तव्य ज्यानअन्तर्गतको मुद्दा दर्ता गरेर कारबाही थालिएको हो ।'

 निजी औषधि पसलबाट गर्भ पतनको औषधि खरिद गरेर सेवन गरी गर्भपतन गराएकी सुनिताको अधिक रक्तस्रावका कारण दुवै मिर्गौला काम नलाग्ने भएपछि मृत्यु भएको चिकित्सकको भनाइ छ । करिब तीन महिनाको गर्भ तुहाउन दुवैजनाको सहमतिमा असुरक्षित तवरले निजी क्लिनिकबाट औषधि खरिद गरेर सेवन गरेपछि अधिक रक्तस्राव भएपछि सुनिताको मृत्यु भएको बुझिएको प्रहरीले जनाएको छ ।

 गर्भपतनपछि गत साउन ३२ गते जिल्ला अस्पताल खोटाङमा भर्ना भएकी सुनिताको अधिक रक्तस्रावका कारण जिल्लामा उपचार सम्भव नभएपछि काठमाडौँ लगिएको थियो । काठमाडौँको शिक्षण अस्पतालमा उपचार गराएर फर्किएकी सुनिताको दीपेन्द्रसँगको प्रेम सम्बन्धलाई विवाहका लागि कानुनी रूप दिन जिल्ला प्रहरी कार्यालय खोटाङ आउँदै गरेको अवस्थामा सदरमुकाम दिक्तेलस्थित एक होटलमा मृत्यु भएको हो । रासस

,

0 comments

Write Down Your Responses