बाबुरामलाई पूर्व लडाकूको खुल्ला पत्रः तपाईको पतन निश्चित छ

POSTED ON : NOVEMBER 8, 2015, IN

कुविक एनपी न्युज

 आदरणीय कमरेड बाबुराम भट्टराई ‘लालध्वज’, बिगत तीस बर्षदेखि अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सहकार्य गर्नुभयो र त्यो अबधिमा हजुरहरुले सधै ‘नयाँ शक्ति नयाँ बिचार’को प्रयोग गर्नुभएकै हो । त्यो अबधिमा कहिले रक्षात्मक परिस्थितिमा ‘नयाँ बिचार नयाँ शक्ति’को प्रयोगले शक्ति सन्तुलनमा पुगेकै हो, शक्ति सन्तुलनको परिस्थितिबाट पनि ‘नयाँ बिचार, नयाँ शक्ति र नयाँ उर्जा’ सहित रणनैतिक प्रत्याक्रमणमा पनि पुगेकै हो । ‘नयाँ बिचार नयाँ शक्ति’सहित बार्तामा पनि पटक पटक गएकै हो ।

 ‘नयाँ बिचार नयाँ शक्ति’सहित चुनावमा पनि गएकै हो, ‘नयाँ बिचार नयाँ शक्ति’को बिजय पनि भएकै हो, ‘नयाँ शक्ति नयाँ बिचार’सहित पालै पालो सरकार सञ्चालन गर्ने जिम्मा पनि अध्यक्ष प्रचण्ड र हजुरले पाउनु भएकै हो । ‘नयाँ शक्ति नयाँ बिचार’सहित पटक पटक अन्य राजनीतिक पार्टीलाई पनि सदुपयोग गरेकै हो । ‘नयाँ बिचार नयाँ शक्ति’सहित कहिले कसैलाई पछाडी पनि पार्नु भो, कहिले कसैको पछाडी परेको जस्तो गरेर अरुलाई सदुपयोग पनि गर्नु भएकै हो ।

फेरि पनि दोस्रोपटक ‘नयाँ शक्ति नयाँ बिचार लिएर चुनावी मैदानमा होमिनु भो नतिजा शक्ति सन्तुलन भन्दा पनि अझै नाजुक स्थिति मा पुग्नुभो, र पनि अध्यक्ष कमरेड प्रचण्डसँग हजुरको सहकार्यले ‘नयाँ शक्ति नयाँ बिचार’ले दुई ठूला पार्टीलाई घुमाइदिनु भएकै हो । संघीयता गणतन्त्र धर्मनिरपेक्षता सहितको संविधान ल्याउन हजुरहरुको ‘नयाँ बिचार नयाँ शक्ति’ले काम गरेकै हो ।

शक्ति सन्तुलनको स्थितिमा यति धेरै उपलब्धि पाउनु पनि ठूलो कुरा नै थियो जुन अहिले प्राप्त भएको छ । तपाईले नयाँ शक्तिको नाममा प्राप्त उपलब्धिलाई धोका दिनु भएको छ, यो धोकासहित माक्र्सवाद लेनिनवाद र माओवादको बिचार र प्रयोगले जसरी तपाइलाई यो हाइटमा पुर्याएको थियो अब अर्को माक्र्स नजन्मिदासम्म तपाईको राजनीतिक अस्तित्व पतनतिर जाँदै गरेको देखिरहेको छु ।अध्यक्ष कमरेड प्रचण्डसँग हजुरको ३० बर्षे सहकार्यमा सधै ‘नयाँ बिचार नयाँ शक्ति र नयाँ प्रयोग’ गर्नुभयो र आज देशको संविधानमा केही नयाँ कुराहरु थपिएका छन् ।

 शक्ति सन्तुलनको परिस्थितिमा पनि लगभग प्रमुख मुद्दाहरु एमाओबादी कै स्थापित भएको छ । जुन कुराहरु स्थापित गर्न हजुरहरुको महत्वपूर्ण भुमिका छ, हजुरहरुको नयाँ प्रयोगले सम्भव भएको हो । अब यी प्राप्त उपलब्धिलाई कार्यान्वयन गर्न र बाँकी उपलब्धिको लागि ‘नयाँ शक्ति नया बिचार र नयाँ प्रयोग’ गर्ने समय आएको थियो तर तपाईं अरु छुट्टै खालको ‘नयाँ शक्ति’ खोज्दै भौतारिदै हुनुहुन्छ ।

 हिजो भुमिगत कालदेखि सार्बजनिक कालसम्म हजुरहरुले सधैं नयाँ बिचार दिनुभयो, नयाँ प्रयोगको अवधारणा ल्याउनुभयो, जसलाई हजुरको कयौं सहपाठीसहित फिल्डमा हामीले साथ दियौ र यो उपलब्धि हासिल भयो । तर, फेरि तपाईं आज यो उपलब्धिलाई संस्थागत गर्नुको साटो यसलाई मान्दैन भन्दै बाहिर बाहिरका केही ठूलाठालुसँग कुम जोड्दै अर्को कुन खालको नयाँ शक्तिको खोजीमा हुनुहुन्छ ? तपाईंको नयाँ बिचार नयाँ प्रयोग सधै पार्टीमा प्रयोग गर्नु भएकै थियो ।

 अझै यो भन्दा पनि छुट्टै खालको नयाँ बिचार तपाइको दिमागमा आएको थियो भने पार्टीमा तपाईले प्रयोग गर्न सक्नुहुन्थ्यो, तपाईंलाई अध्यक्षसहित तमाम सहपाठीहरुले साथ दिन्थे, तर तपाईंले आफ्ना पूराना सहपाठीहरुलाई विश्वास गर्नुभएन, बाहिर बाहिर बिश्वासपात्रहरु खोज्दै हिड्नु भएको छ ।

 तपाईले नयाँ शक्तिको नाममा प्राप्त उपलब्धिलाई धोका दिनु भएको छ, यो धोकासहित माक्र्सवाद लेनिनवाद र माओवादको बिचार र प्रयोगले जसरी तपाइलाई यो हाइटमा पुर्याएको थियो अब अर्को माक्र्स नजन्मिदासम्म तपाईको राजनीतिक अस्तित्व पतनतिर जाँदै गरेको देखिरहेको छु । –

सफल सेर्पाली
पूर्ब जनमुक्ति सेना ।

0 comments

Write Down Your Responses