ललितपुरमा पर्खाल भत्किँदा २ विद्यार्थीको मृत्यु, २० घाइते

१७ असार, काठमाडौं ।

 ललितपुरको टौखेलस्थित पुञ्पाजली बोर्डिङ स्कुल नजिकै बनाइएको पर्खाल भत्किएर विद्यार्थीहरूलाई च्याप्दा दुई जनाको मृत्यु भएको छ । पर्खालले च्यापिएर २० जना घाइते भएका छन् । जग्गा व्यवसायीले लगाएको ढुंगाको पर्खाल वर्षाले भत्किएर कक्षा कोठाको भित्तामा बज्रिएको थियो ।

 पर्खाल र भित्ता भत्किएर कक्षा आठ र तीनका विद्यार्थीहरु च्यापिएका थिए ।उपचारको क्रममा टौखेलकी ९ वर्षीया कृपा राई र आमा घरकी अन्जना पुनमगरको मृत्यु भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माले अनलाइनखबरलाई जानकारी दिए । 

पुनमगरको आमा नभएकाले आमा घर नामक अनाथालयले पढाउँदै आएको थियो । विद्यालयको भित्ता कमजोर भएकाले प्लटिङ गरिएको ढुंगाको पर्खाल थेग्न नसकेकाले बढी क्षति भएको बताइएको छ ।घाइते भएकाहरुको बी एण्ड बी र पाटन अस्पतालमा उपचार भइरहेको छ ।

 एक जनालाई सिटीस्क्यान गर्न सुमेरु अस्पताल पठाइएको छ । घाइतेमध्ये दुई-तीन जनाको अवस्था गम्भीर रहेको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।

0 comments

Write Down Your Responses