स्थलगत रिपोर्टिङ–३ : अवैध ढुंगाखानीको कमिसन एसएसपीको टेवलदेखि सिडीओ क्वार्टरसम्म !
३० असार | राजेश भण्डारी
ललितपुर–
ललितपुरको दक्षिणी भेगमा पर्ने टिकाभैरव र लेले क्षेत्रमा सञ्चालनमा आएका अवैध ढुंगाखानीहरु प्रमुख जिल्ला अधिकारी, ललितपुरका एसएसपी, स्थानीय विकास अधिकारी तथा जिल्ला बन कार्यालयको मिलेमतोमा सञ्चालन भइरहेको पाईएको छ ।
यसबापत खानी संचालकहरुबाट एसएसपीदेखि सिडीओसम्मले मासिक रुपमा कमिशन लिने गरेको ब्यवसायीहरुले बताएका छन् ।
सरकारी अधिकारीहरुलाई कमिशन दिनका लागि अवैध खानी संचालकहरुले क्षमता अनुसार पैसा असुल्ने गरेको पार्ईएको छ ।
एक साता अघि मात्रै असार मसान्तसम्मका लागि ढुंगा निकाल्ने कार्यादेश लिएका निराकार ढुंगा रोडा उद्योग प्रा.लि. का सञ्चालक मधुसुदन डोटेलले सवै ब्यवसायीबाट कमिशन रकम असुलेर एसएसपीको टेवल देखि सिडीओ क्वार्टरसम्म पुर्याउने गरेका छन् ।
‘ललितपुरका एसएसपी पिताम्बर अधिकारी ‘सवैभन्दा पहिले टेवुलमा पैसा राखेर मात्रै कुरा गर्नुस् नभए कुरै नगर्नुस भन्छन् !’
मधुसुदन डोटेलको भनाई उदृत गर्दै एक निर्माण ब्यवसायीले भने, ‘सवैभन्दा धेरै कमिशन एसएसपीले बुझ्छन् ।
उनका अनुसार एसएसपीले महानगरीय प्रहरी आयुक्त एआईजी प्रताप थापालाई समेत दिनुपर्छ भन्दै मासिक ६ लाख बुझ्ने गरेका छन् ।
अवैध ढुंगाखानी संचालक निकट स्रोतका अनुसार ललितपुरका प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माले मासिक २ लाखका दरले कमिशन लिने गरेका छन् ।
त्यस्तै स्थानिय विकास अधिकारी हरि प्रसाद दाहालले दुई लाख, महानगरीय प्रहरी वृत चापागाउँका डिएसपी श्याम राईले मासिक १ लाख रुपैयाँ कमिशन बापत असुल्ने गरेको पाईएको छ । टिकाभैरव क्षेत्रका असई अनन्त भट्टराईको भागमा भने मासिक ५० हजार कमिशन रकम पर्ने गरेको छ ।यसरी सरकारी अधिकारीहरुलाई लाखौं कमिशन बुझाउनका लागी अवैध खानी संचालकहरुले दुई महिनाअघि सम्म टिकाभैरवमा ढाट राखेर हरेक गाडीबाट एक पटकमा पाँच सयको दरले असुल गर्दै आएका थिए ।
‘स्थानीयले विरोध गरेपछि ढाट हटाए’ ति ब्यवसायीले भने, ‘अहिले क्रसर उद्योगी र अवैध खानि संचालकले आफ्नो गक्ष अनुसार मासिक रुपमा पैसा दिने गरेका छन् ।’ उनका अनुसार सवैभन्दा धेरै मधुसुदन डोटेलले मासिक ३ लाख कमिशन रकम छुट्याउने गरेका छन भने शेखर महतले दुई लाख छुट्ट्याउने गरेका छन् ।
त्यसबाहेक अन्यले मासिक ५० हजारका दरले पैसा उठाएर मधुसुदन मार्फत सरकारी अधिकारीहरुलाई कमिशन बुझाएर निर्वाध रुपमा अवैध ढुंगा खानि संचालन गर्ने गरेका छन् । टिकाभैरवमा अझै पटके कर !टिकाभैरव बाट चापागाउँतिर आउने मुल सडकमा आजभोली पनि पटके कर उठाउने गरेका भेटिएको छ ।
गत साता स्थलगत रिपोर्टिङका लागी टिकाभैरव पुग्दा महर्जन निर्माण सेवाको ब्यानरमा एक युवा कर उठाउँदै थिए ।
सरकारले देशभर पटके केर उठाउन निषेध गरेपनी विरेन्द्र महर्जनले संचालन गरेको महर्जन निर्माण सेवाले टिकाभैरवमा अवैधानिक रुपमा पटके कर उठाईरहेको छ । यसबारे प्रशासनले कुनै चासो राखेको छैन । ब्यवसायीहरुका अनुसार महर्जनलाई जिल्ला विकास समिती ललितपुरले पटके कर उठाउने अनुमती दिएको थियो, जुन अवैध हो ।
दिपक मनाङ्गेको लगानी नख्खु करिडोरको ढाटमा
महानगरीय प्रहरी परिसर काठमाडौंले संगठीत अपराधको मुद्धा दर्ता गरेर अनुसन्धान गरिरहेको गुण्डा नाईको दिपक मनाङ्गेको लगानी नख्खु करिडोरको ढाटमा रहेको पाईएको छ ।
टिकाभैरवबाट नल्लुखोलाको किनार हुँदै नख्खुतिर आउने बाटोमा राखेको ढाटको ठेक्का शुरेश लामाको नाममा परेपनी त्यसमा दिपक मनाङ्गेको लगानी रहेको ब्यवसायीहरुले बताएका छन् ।
‘सुरेश लामाको निमा निर्माण सेवा ६ करोड २० लाखमा ढाटको ठेक्का पारेको थियो’ एक निर्माण ब्यवसायी भन्छन्, ‘सुरेशसँग पैसा थिएन त्यसैले मनाङ्गेले लगानी गरे, अहिले ढाटको आम्दानी मनाङ्गेको हातमा जान्छ ।’
नख्खु करिडोरको ढाटमा एउटा गाडिबाट एक पटकमा १ हजार तिन सय असुल्ने गरेको ब्यवसायीहरुको भनाई छ । मनाङ्गेका साझेदारका रुपमा ललितपुरमा गुण्डागर्दी गर्दै आएका प्रकाश मालिले समेत लगानी गरेको स्रोतको भनाई छ ।यसबारे प्रतिक्रिया लिन सम्पर्क गर्दा ललितपुरका प्रमुख जिल्ला अधिकारी ऋषि प्रसाद शर्माले मासिक कमिसन खाएको अस्वीकार गर्दै भने, ‘अवैध ढुंगा खानि हेर्ने काम प्रहरीको हो, प्रहरीले हेरिराखेको छ हामीले बेला–बेला अनुगमन गरिरहेका छौँ ।’
‘लेलेमा सञ्चालित करिब करिब दुई दर्जन अवैध ढुंगाखानीबाट तपाईले मासिक कमिशन खानुहुन्छ रे हो ?’
हामीले यस्तो प्रश्न गरेपछी ललितपुरका प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारीले भने, ‘पुलिसले कमिशन खाँदैन, भेटेजत्ति अवैध खानि सञ्चालकहरुलाई समातेर हामीले जिल्ला बन कार्यालयमा कारवाहीका लागि पठाएका छौं ।
’
यसभन्दा पहिले जंगल मिचेर ढुंगा निकाल्ने काम भएको स्विकार गर्दै अधिकारीले भने, ‘अहिले हामीले सीमांकन सहित पिल्लर गाडेर मात्र डोजर चलाउन दिएका छौँ ।’
स्थानीय विकास अधिकारी हरी प्रसाद दाहालसँग प्रतिक्रिया लिनका लागि पटक पटक सम्पर्क गर्दा उनि सम्पर्कमा आएनन् ।
0 comments
Write Down Your Responses