बाबुरामजीको निर्णय देश, जनता र , पार्टीका लागि उचित छैन- दाहाल
कान्तिपुर संवाददाता,
काठमाडौंआश्विन १०, २०७२-
एमाओवादीले बरिष्ठ नेता बाबुराम भट्टराईको पार्टीत्यागबारे तत्काल कुनै टिप्पणी नगर्ने निर्णय गरेको छ । उसले भट्टराईको निर्णय गलत भएको निष्कर्ष निकाल्दै वैचारिक राजनीतिक कोणबाट टिप्पणी नगर्ने निर्णय गरेको छ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहालले भट्टराईको निर्णयले आश्चार्यचकित बनाएको बताउँदै पुन: फर्कन अपिल गरे । ‘उहाँलाई पार्टीमा फर्काउन सबैले पहल गरौं, म पनि गर्छु,’ दाहालको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य नारायण दाहालले भने, ‘उहाँको अरु पक्षबारे पछि विश्लेषण गरौंला ।
’
दाहालले भट्टराईसँग संविधान निर्माणलगायतका कुनै पनि विषयमा विमति नरहेको बताए । ‘संविधान घोषणापछि दीपावली गर्ने/नगर्ने भन्नेबारेमात्रै विमति थियो,’ उनले बैठकमा भने, ‘अरु विषयमा कुनै मतान्तर थिएन ।’
दाहालले असोज ८ गते केन्द्रीय समितिको बैठकका एजेन्डाबारे भट्टराईसँग छलफल भएको र पार्टीलाई पुनर्गठन गरेर नयाँ गति दिनेबारे एकमत भएको उल्लेख गरे ।
बैठकमा भट्टराईपक्षीय नेताहरु टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, वामदेव क्षेत्री, हेमराज भण्डारीलगायत उपस्थित थिए ।भट्टराईलाई सोमबार जनकपुरमा स्वागत गर्न खटिएका पोलिटब्यूरो सदस्य गंगानारायण श्रेष्ठ, विदेशमा रहेकी पत्नी हिसिला यमी र मधेसी नेताहरु रामकुमार शर्मा, रामरिझन यादवलगायत भने अनुपस्थित रहे ।
एमाओवादीको उपादेयता सकिएको भन्दै भट्टराईले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टीत्याग घोषणा गरेका थिए ।
बैठकमा अध्यक्ष दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधान निर्माणमा पार्टीले गरेका प्रयास र उपलब्धीबारे जानकारी गराएका थिए ।
एमाओवादीले भट्टराईको निर्णयले स्वयं उनैलाई बढी घाटा हुने निष्कर्ष निकालेको छ ।
‘बाबुरामजीको निर्णय देश, जनता, पार्टीका लागि पनि उचित छैन,’ दाहालले भने, ‘झन् उहाँका लागि त बढी हानिकारक छ ।’
एमाओवादीले तराई मधेसमा जारी आन्दोलन वार्ताबाट टुंग्याउनुपर्नेमा जोड दिएको छ । उसले सरकारलाई फौजी दमन बन्द गर्न र आन्दोलनकारीलाई पनि वार्तामा आउन अपिल गरेको छ ।
बैठकले भारत सरकारले गरेको नाकाबन्दीले दुवै देशलाई घाटा हुने निष्कर्ष निकाल्दै कुटनीतिक पहल गर्ने निर्णय गरेको छ ।
0 comments
Write Down Your Responses