केसीले जुस नपिउँदै निजी मेडिकल सञ्चालक आन्दोलित

भाद्र २०, २०७२-
 प्रा.डा. गोविन्द केसीसँग सरकारले ११ बुँदे सम्झौता गरेलगत्तै निजी मेडिकल कलेज सञ्चालक आन्दोलित भएका छन् । सम्झौतापछि केसीले अनसन नतोड्दै निजी मेडिकल कलेज सञ्चालकहरुको समूह एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपालले कडा विरोध जनाएको हो । उसले आइतबारदेखि नै कालोपट्टी बाँधेर आन्दोलन सुरु गरेको छ ।

 एसोसिएसनका कार्यवाहक अध्यक्ष सुरेशकुमार कनोडियाले सम्झौताले निजी मेडिकल कलेज धरासायी बनाएको बताउँदै आन्दोलन सुरु गर्नुपरेको बताए । उनका अनुसार आइतबार र सोमबार कालोपट्टी बाँधेर विरोध गर्ने र मंगलबारदेखि आकस्मिकबाहेकका निजी स्वास्थ्य संस्था ठप्प पारिनेछ ।
 कनोडियाले केसीको लिंढे ढिपीले मेडिकल क्षेत्र तहसनहस हुने दाबी गरे । ‘राज्य आफू बलियो भएर नीति बनाउने कि एउटा चिकित्सकले जे भन्यो त्यही गर्ने,’ उनले प्रश्न गर्दै भने, ‘कमसेकम सबै स्टेक होल्डरलाई सोधेर निर्णय गर्नुपर्छ कि पर्दैन ?

’कनोडियाले केसीलाई उचालेर विदेशमा मेडिकल शिक्षा दिन पठाउने माफियाहरु सक्रिय रहेको आरोप लगाए । विराट मेडिकल कलेजका सञ्चालक डा. ज्ञानेन्द्र कार्कीले केसीसँग गरिएका सम्झौता कुनै पनि वैज्ञानिक नभएको दाबी गरे । ‘यति धेरै लगानी भएको मेडिकल शिक्षा हठ र लहडमा चल्दैन,’ उनले भने । मेडिकल कलेज सञ्चालकहरुले एमबीबीएसको कोटा घटाउने, शुल्क अधिकतम ३५ लाख बनाउनेलगायतका सम्झौताप्रति आपत्ति जनाए । नेसनल मेडिकल कलेजका सञ्चालक बसुरुद्धिन अन्सारीले सम्झौता लागू भए निजी मेडिकल कलेज चलाउन नसकिने भन्दै राष्ट्रियकरण गर्न सरकारलाई चुनौति दिए । 

0 comments

Write Down Your Responses