अत्याधुनिक हतियारसहित भारतीय प्रहरी नेपाल प्रवेश गरेको खुलासा

वीरगञ्ज, ९ कात्तिक  अत्याधुनिक हतियारसहित एसपीको कमाण्डमा भारतीय प्रहरी नेपाल प्रवेश गरेको खुलासा भएको छ ।मधेशी मोर्चाका कार्यकर्ताले अड्डा जमाउँदै आएको वीरगञ्ज र रक्सौल नाकाबीचको मितेरी पुल हुँदै एसपीको कमाण्डमा पाँच जना भारतीय प्रहरी नेपाल प्रवेश गरेका हुन् ।घटना गत शुक्रबारको हो ।

नेपालमा आयात तथा निर्यात समेत ठप्प पार्ने गरी मितेरी पुलमा पाल टाँगेर २४ घण्टा धर्ना टाँगेर बसेका आन्दोलनकारीहरुको सहयोगमा ती प्रहरी नेपाल प्रहरी प्रवेश गरेका हुन् । आन्दोलनकारीले बाँसमा पाल टाँगेर विगत एक महिनादेखि मितेरी पुलमा कब्जा जमाउँदै आएका छन् । असोज ७ गतेदेखि मधेशी मोर्चाका कार्यकर्ता पाल टाँगेर मितेरी पुलमा धर्नामा बसेका कारण रिक्सा समेत पार गर्न अप्ठेरो छ । 

तर, साइरन बत्ती जडित गाडीमा चढेर भारतीय प्रहरी मितेरी पुलबाट कसरी नेपाल प्रवेश गरे भन्नेमा नेपाल प्रहरी समेत अचम्मित भएको छ ।शुक्रबार साँझ ७ बजेतिर एमपी ओ ३ ए १९१५ नम्बरको गाडी अन्तराष्ट्रिय नाकाबाट करिब १५ किलोमिटरभित्र परवानीपुरसम्म पुगेको थियो । परवानीपुरमा तैनाथ पर्सा प्रहरीले चेकजाँचका क्रममा गाडीबाट १ थान एके ४७ र त्यसमा प्रयोग हुने ३० राउण्ड गोली बरामद गरेपछि प्रहरीले आवश्यक सोधपुछ सुरु गरेको थियो ।

 नियन्त्रणमा लिएर सोधखोज गर्दा उनीहरु प्रहरी भएको रहस्य खुल्यो । गाडीमा ४ जना बर्दीधारीसहित ५ जना थिए । बर्दी नलगाएका एक व्यक्ति भने मध्यप्रदेशको रिवा जिल्ला ‘स्पेशल आर्म फोर्स’ ९ औँ बटालियनका एसपी नरवदा प्रसाद वरकडे रहेको खुलेको खुल्यो । सोधपुछका उनीहरुले आफूहरु काठमाडौँमा रहेको पशुपतिनाथको दर्शनका लागि हिँडेको जबाफ दिए । 

तर, बर्दी र हतियार यहीँ राखेर जान भनेपछि उनीहरु भारत नै फर्कन चाहे ।त्यसपछि पर्सा प्रहरीले रातारात स्कर्टिङ गरी भन्सार अगाडि रहेको शंकराचार्य गेट कटायो । स्थानीय प्रत्यक्षदर्शीका अनुसार, आन्दोलनरत दलका एकजना नेताले पाल टाँगेको बाँस हटाएर भारतीय प्रहरीको गाडी नेपाल प्रवेश गराएका थिए । नेपाल प्रहरीले परवानीपुरबाटै फर्काइदिएपछि मितेरी पुलमा सुतिसकेका आन्दोलनकारी उठेर पुनः पुलमा टाागिएको हटाएर भारतीय प्रहरीलाई बिदाई गरेका थिए ।

खुल्ला सिमा भएका कारण नेपाल र भारतका प्रहरीलाई एक एक अर्काको देशमा जान छुट छ । तर, यसरी अर्काको देशमा प्रवेश गर्दा दुबै देशका प्रहरीले बोकेको हतियार आफ्नै मुलुकको सीमा प्रहरी चौकीमा बुझाएर जाने परम्परा छ । औपचारिक कार्यक्रमबाहेक अन्य बेला बर्दीमा समेत जान मिल्दैन ।

 तर, यस्तो नियम हुँदाहुँदै भारतीय प्रहरी हतियारसहित सुसज्जित भएर बर्दीमा नेपाल प्रवेश गर्ने हिम्मत कसरी गरे ? कस्को योजनामा र किन भारतीय प्रहरीको टुकडी नेपाल प्रवेश गरेको हो भन्ने विषयमा पर्सा प्रहरीले गम्भीर रुपमा छानबिन थालेको छ ।

0 comments

Write Down Your Responses