यसपालिको दशैँ ग्यास लाइनमा बित्ने भो .........
सोमबार 2 कार्तिक, 2072
काठमाडौं, कार्तिक २ । नेपालीहरुको महान चाड विजया दशमी अन्तर्गत नवरात्रको बेला सिंगो देश दशैंमय हुनुपर्ने हो । तर अधिकांश मानिसहरुका लागि यो वर्षको दशैं कष्टकर बनेको छ ।
भारतले गरेको नाकाबन्दीले काठमाडौंलगायत देशैभर इन्धनको अभाव भएपछि यसको सोझो असर सर्वसाधारणलाई परेको छ ।
घटस्थापनापछि सबैको घर आँगनमा दशैंले पाइला टेकिसकेको छ । तर यसपालीको दशैं धेरैका लागि दशा सावित बनेको छ । ‘हुने–खाने’लाई यो अभावले खासै असर नपारे पनि ‘हुँदा खाने’हरुको दैनिकी चौपट भएको छ ।
दशैंको बेला आफन्त र साथीभाईसँग बसेर रमाइलो गर्नुपर्नेमा अधिकांश नेपालीको दैनिकी घरको चुलो बाल्नका लागि इन्धनको जोहो गर्नका लागि बितेको छ ।
काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा ग्यास लिन लाइन लागेकाहरु यसको प्रत्यक्ष उदाहरण हो ।नाकाबन्दीपछि बालाजु औद्योगिक क्षेत्रमा रहेको नेपाल ग्याँस उद्योगमा ४ बुलेट ग्याँस आए । यी चार बुलेटबाट करिब ४ हजार ८ सय वटा सिलिन्डर भर्न सकिन्छ । आइतबारसम्म ३ हजार कुपन बाँडिए पनि सबैले ग्यास पाएका छैनन् ।
ग्यास लिनका लागि औद्योगिक क्षेत्र बाहिरबाट बालाजुको बाइसधारा अगाडिको सडकसम्म ३ देखि ४ लाईन रहेका थिए । ग्यास सकिएर चुलो नबलेपछि के बृद्ध, के बालक, के युवायुवती, चर्को घाममा धुलोको पर्वाह नगरी ग्यास पाउने आशामा बसेका थिए, कसैको अनुहारमा दशैंको उमंग थिएन । झट्ट सुन्दा सामान्य लाग्न सक्ने ग्यास नपाउँदाको पीडा होस् वा पेट्रोलियम पदार्थको अभाव, यसले साँच्चै निम्नस्तरका नेपाली जनतालाई नराम्ररी प्रताडित गरेको छ ।
0 comments
Write Down Your Responses