बेइजिङबाट फर्केर आपूर्तिमन्त्रीले भने-चीनले मागेजति तेल दिन्छ, मूल्य भारतको भन्दा फरक पर्दैन -

२ मंसिर, काठमाडौं - वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले चीनबाट नेपालले मागेजति इन्धन ल्याउन सक्ने वातावरण बनेको दाबी गरेका छन् । अनौपचारिक चीन भ्रमणमा गएर मंगलबार राति स्वदेश फर्केका मन्त्री पुनले तेल र ग्यास दुबै चीनबाट ल्याइने जानकारी दिए ।

 नेपालले चीनसित इन्धन आपूर्तिका लागि गर्न लागेको व्यापारिक सम्झौताको पूर्वसन्ध्यामा मन्त्री पुन गोप्यरुपमा हङकङ हुँदै बेइजिङ भ्रमणमा गएका थिए । आफ्नो भ्रमण अनौपचारिक भए पनि महत्वपूर्ण रहेको उनले बुधबार मन्त्रालयमा पत्रकारहरुसित बताए । ‘म इन्धन आपूर्तिकै लागि वातावरण तयार गर्न केही साथीहरुको माध्यमबाट गएको हुँ,’ मन्त्री पुनले भने, ‘भ्रमणका क्रममा सकारात्मक छलफलहरु भएका छन्, हामीले मागेजति तेल पाउने वातावरण बनेको छ ।


’ मन्त्री पुनले केरुङलगायत दुई नाकालाई प्रयोग गरेर इन्धन आपूर्ति गरिने जानकारी दिँदै मूल्यको हकमा भारतबाट ल्याउँदा भन्दा धेरै फरक नपर्ने संकेत गरे । ‘हामीले चीनको स्थानीय शुल्क मिनहा गरेर तेल आपूर्ति गरिदिन अनुरोध गरेका छौं,’ उनले भने, ‘उहाँहरु पनि सकारात्मक हुनुहुन्छ ।’व्यापारिक सम्झौताका लागि नेपाल आयल निगमको टोली सम्भवतः भोलि चीन जाने मन्त्री पुनको भनाइ थियो । व्यापारिक सम्झौतापछि ८-१० दिनभित्रै तेल आपूर्ति सुचारु हुन सक्ने पनि उनले बताए ।

 बंगलादेशसित पनि पहल

 मन्त्री पुनले बंगलादेशबाट पनि पेट्रोलियम भित्र्याउन सरकारले कुटनीतिक पहल गरिरहेको जानकारी दिए । बंगलादेशबाट ल्याउँदा भारतकै बाटो प्रयोग गर्ने र भारतले त्यसमा पनि अवरोध गरेको खण्डमा ‘एयरलिफ्ट’ गरेर भए पनि ल्याउन सकिने उनको कथन छ । ‘हामी सबै विकल्पहरुमा अघि बढिरहेका छौं,’ पुनले भने, ‘बंगलादेशसित प्रधानमन्त्रीकै तहमा कुराकानी भइरहेको छ ।’ बंगलादेशबाट तेल ल्याउने विषयमा पहल गर्न आयल निगमको एक टोली हाल बंगलादेशमा छ ।

 उच्च गुणस्तरको ग्यास आउँछ

 नेपालले चीनबाट एलपीजी ग्यास पनि आयात गर्ने तयारी गरेको र चीनबाट आउने ग्यास नेपालमा अहिले प्रयोग भइरहेको भन्दा गुणस्तरीय हुने मन्त्री पुनले बताएका छन् । नेपालकै अनुरोधमा चीनले तातोपानी नाकाको अवस्थाबारे अध्ययन गरिरहेको भन्दै मन्त्री पुनले सोही नाकाबाट ग्यासका बुलेट ल्याउन सकिने उल्लेख गरे ।

 दुई नाकाहरुमा आउने बाटो र पूर्वाधारका सम्वन्धमा पनि दुई देशबीच गम्भीर छलफल भइरहेको उनको भनाइ छ ।नेपालीले कहिलेबाट तेल र ग्यास पाउलान् त भन्ने प्रश्नमा मन्त्री पुनले भने, ‘सरकारले चौतर्फी पहल गरिरहेको छ, चाँडोभन्दा चाँडो समस्या समाधान हुन्छ ।’

0 comments

Write Down Your Responses