प्रहरीकै संलग्नमा म्यानपावर व्यवसायी अपहरणमा

३ चैत, काठमाडौं - म्यानपावर व्यवसायीलाई अपहरण गरेको आरोपमा नेपाल प्रहरीका दुई जना सई पक्राउ परेका छन् । 

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले व्यक्ति अपहरण गरेको आरोपमा अपराध महाशाखाकै सई सम्वद तामाङ र हेटौंडाको रातमाटे पोष्टमा कार्यरत सूर्य थापालाई पक्राउ गरेको हो । सईद्वयले म्यानपावर व्यवसायी बद्री राईलाई गत माघ १ गते अपहरण गरेर फिरौती असुल गरेको खुलेको महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले बताए । 

‘दुई महिना अघिको घटनाको अनुसन्धान गर्दा हाम्रै प्रहरी पनि संलग्न रहेको खुलेपछि दुवैलाई पक्राउ गरिएको हो । थप अनुसन्धान भइरहेको छ,’ एसएसपी अमात्यले भने । दुवै जना सईले काभ्रेका अर्जुनकुमार लामा र नवलपरासीका राजकुमार गुरुङसँग मिलेर अपहरण गरेको खुलेको छ । चार जनाको समूहले म्यानपावर व्यवसायी राईलाई माघ १ गते कोटेश्वरबाट अपहरण गरेर एयरपोर्टस्थित बाजेको सेकुवामा लगेर ६ घण्टा बन्धक बनाएर फिरौती मागेको भेटिएको छ । 

उनीहरुले राईसँग २५-२५ लाख दरका चारवटा चेक लिएर हिँडेका थिए । फिरौती बुझाएपछि राईले अपराध महाशाखामा उजुरी गरेका थिए । अनुसन्धानका क्रममा अपहरण र फिरौती असुली दुवैमा घटनामा सईद्वय थापा र तामाङको संलग्नता देखिएको प्रहरीले दिएको छ । घटना हुँदा सई सूर्य थापा बानेश्वर वृत्तमा कार्यरत थिए । ‘अपहरणकारीसँग मिल्ने प्रहरीले अपराधबाट उन्मुक्ति पाउँदैन । त्यसैले हाम्रै प्रहरीलाई पनि पक्राउ गरेर थुनामा राखेका छौं,’ एसएसपी अमात्यले भने ।

0 comments

Write Down Your Responses