विश्वकै होचा व्यक्ति चन्द्रबहादुर डाँगीको निधन

१८ भदौ, काठमाडौं । विश्वकै होचा व्यक्तिका रुपमा गिनिज बुक अफ दि वर्ल्ड रेकर्डमा नाम लेखाएका नेपालका चन्द्रबहादुर डाँगीको निधन भएको छ । अमेरिका भ्रमणमा रहेको उनको उपचारका क्रममा निधन भएको हो । अमेरिकाको ल्याण्डन बी जोहन्सन ट्रपिकल मेडिकल सेन्टरमा उपचारका क्रममा उनको शुक्रबार निधन भएको हो । 
 डाँगीको म्यानेजरको भूमिका समेत निभाइरहेका गिनिज बुक अफ दि रेकर्ड होल्डर थानेश्वर गुरागाईँले अनलाइनखबरसँग भने-‘उहाँको भतिजा दोलख डाँगीले यो दुःखद खबरबारे जानकारी दिनु भएको हो ।’

थानेश्वरका अनुसार चन्द्रबहादुर र दोलख ६ महिनाका लागि अमेरिका गएका थिए । तर, पछिल्लो समय निमानिया देखिएपछि अस्पताल भर्ना भएका थिए । थानेश्वरका अनुसार चन्द्रबहादुर डाँगीको निधन भएको गिनिज बुक अफ दि वल्र्ड रेकर्डको कार्यालयमा समेत जानकारी गराइसकिएको छ । 
उनले डाँगीको शव नेपाल ल्याइने बताए । उनले भने-‘प्रोसस केही थाहा छैन । सरकारले के सहयोग गर्छ हेरौं, तर, जसरी पनि उहाँको शव नेपाल ल्याउँछौं ।’ अमेरिकामा अहिले रात परेको छ । र, त्यहिँ कारण थप जानकारी प्राप्त भएको छैन । यद्यपी एक जना नेपालीसँग कुरा गरेको उनले बताए ।
 १९९६ मंसिर १५ मा दाङमा जन्मिएका डाँगीले २०६८ फागुन १४ गते विश्वकै होचा व्यक्तिको प्रमाण पत्र पाएका थिए । उनको उचाई १ फिट साढे नौं इन्च अर्थात ५४. ६ सेन्टिमिटर थियो । उनको तौल १५ किलो मात्र थियो । मृत्युपछि पनि चन्द्रबहादुरको नाम अहिलेसम्म भेटिएका होचा व्यक्तिको रुपमा गिनिज बुकमा रहेछ । 

चन्द्रबहादुरले कीर्तिमान राख्नु अघि अहिलेसम्म भेटिएका होचा व्यक्तिको रेकर्ड भारतका गुह मोहम्मदको नाममा थियो । यस्तै जिवित व्यक्तिको रेकर्ड भने फिलिपिन्सका वालाविङको नाममा थियो ।

,

0 comments

Write Down Your Responses