६२ अर्बको रक्सी पिउँछन् नेपाली

काठमाडौं – नेपालमा एक वर्षमा ६१ अर्ब रुपैयाँ बराबरको रक्सी खपत हुने गरेको छ । देशमा उत्पादित दर्ताविनाको लोकल ठर्राबाहेक दर्तावाल कम्पनीबाट उत्पादित र विदेशबाट आयातीत गरी ६१ अर्ब ९२ करोड ३७ लाख १७ हजार बराबरको मदिरा नेपालमा खपत हुने गरेको हो । स्वदेशी र विदेशी विभिन्न कम्पनीको विभिन्न ब्राण्डको ५ करोड ७३ लाख ३९ हजार ११५ लिटर मदिरा गत वर्ष नेपालभित्र खपत भएको छ । नेपालमा मात्रै विभिन्न दर्तावाला उद्योगले उत्पादन गरेको ३ करोड ६५ लाख ३२ हजार ४२६ लिटर मदिरा उत्पादन गरेको आन्तरिक राजस्व विभागले जनाएको छ ।
 त्यसमध्ये ३९ लाख ५१ हजार १०१ लिटर विदेश पठाएको तथ्यांक भन्सार विभागसँग छ । बाँकी रहेको ३ करोड २५ लाख ८१ हजार ३२५ लिटर नेपालमै खपत हुने गरेको हो । यसमा बियर समावेश छैन । गत वर्ष नेपालमा बियर मात्रै २४ अर्ब र बियर बाहेक अन्य मदिरा ३५ अर्ब रुपैयाँको कारोबार भएको आन्तरिक राजस्व विभागका अन्तःशुल्क व्यवस्थापन शाखा निर्देशक लोकप्रसाद न्यौपानेले बताए । 
‘मदिराबाट मात्रै १२ अर्व १० रुपैयाँ अन्तःशुल्क संकलन भएको छ’, उनले भने ‘हामीले बियरलाई यसमा समावेश नगरेकोले बियरबाट मात्र ५ अर्ब ३१ करोड अन्तःशुल्क संकलन भएको छ ।’ त्यसै गरी गत वर्ष विदेशबाट विभिन्न ब्राण्डको दुई करोड ८ लाख ६ हजार ६८९ लिटर मदिरा नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । 
‘२ अर्ब ९२ करोड ३७ लाख १७ हजार बराबरको मदिराजन्य सामग्री नेपाल भित्रिएको छ’– भन्सार विभागका तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले भने । यसमा तयारी मदिरा र मदिराजन्य सामग्री हुने गरेको उनले बताए । विदेशबाट भित्रिएको बियर, वाइन, जिन, भोड्का, ह्विस्की लगायतको रक्सी नेपालीले पिउने गरेका छन् ।सरकारी निकायहरुबबाट यस्तो तथ्यांक आएपनि मदिरा व्यवसायी महासंघले भने नेपालमा यो भन्दा धेरै मदिरा खपत हुने जनाएको छ । 
मदिरा व्यवसायी महासंघका अध्यक्ष नविनलाल श्रेष्ठले वास्तविक भन्दा सरकारी तथ्यांक कम रहेको बताए । ‘हामी संग भएको तथ्यांक अनुसार त बाहिरबाट ३ अर्व मात्र नभएर करीव १० अर्बको मदिरा भित्रन्छ ।’ उनले भने । श्रेष्ठको तथ्यांक आधार मान्ने हो भने नेपालमा एक वर्षमा ६८ अर्व भन्दा बढीको मदिरा नेपालमा खपत हुन्छ ।

,

0 comments

Write Down Your Responses