प्रचण्डलाई बाबुरामको जवाफ-माया छ भन्दैमा लाशलाई अंगालो हालिन्न
२०७२ असोज १८ गते १६:१५ मा प्रकाशित
कपिल ज्ञवाली
१८ असोज, बुटवल । एमाओवादीलाई भत्किएको घर, रातो स्टीकर टाँसेको घर भन्दै आएका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले लाशको संज्ञा दिएका छन् । लाशलाई कसैले पनि अंगालो हालेर नबस्ने भएकाले आफूले पनि एमाओवादी परित्याग गरेको उनले बताए ।
सोमबार बुटवलमा आयोजित पत्रकार भेटघाटमा भट्टराईले भने, ‘माया छ भन्दैमा कसैले पनि मरेको लाशलाई अंगालोमा हालेर बस्न त सक्दैन नि ?’
उनले एमावादी पार्टी र सो पार्टीका नेताहरुप्रति कुनै आग्रह-पूर्वाग्रह नरहेको स्पष्ट पनि पारे ।
नयाँ शक्ति आर्थिक एजेण्डामा केन्द्रित
उनले सरकारले मधेस र थरुहट लगायतका माग उचित ढंगले सम्बोधन गर्नुपर्ने बताए ।
उनले अब आफूले बनाउने नयाँ शक्ति आर्थिक एजेन्डामा केन्दि्रत हुने जानकारी पनि गराए । मुलुकको बिकास आर्थिक समृद्धि बिना हुनै नसक्ने उनको भनाइ थियो । त्यसैले नयाँ शक्तिको पहिलो प्राथमिकता मुलुकलाई तीब्ररुपमा आर्थिक समृद्धिको बाटोमा लैजाने र मुलुकको मुहार फेर्ने उनले प्रष्ट्याए ।भट्टराईले भने, ‘मुलुकको नयाँ आवश्यकताको महसुस गरेर नै मैले एमाओवादी परित्याग गरेको हुँ, अब पुरानो शैली हैन, नयाँ ढंगले अघि बढ्नेछु ।
’
पुँजीवादको जगमा टेकेर समाजवाद प्राप्तिलाई लक्ष्य बनाएर अघि बढ्ने उनको भनाइ छ ।
भट्टराईले विभिन्न दलका नेता-कार्यकर्ता, उद्योगी-व्यवसायी र सरोकारवाला सबैसँग एक चरणको छलफल र सल्लाहपछि नयाँ राजनीतिक शक्ति घोषणा गर्ने बताए ।
0 comments
Write Down Your Responses