'मनले स्वीकारेपछि शरीरले स्वीकार्छ'मेरो हनिमुन

मेनुका राई, 

गायिका विवाह भएको १७ वर्ष भइसक्यो । दुई वर्षको प्रेमसम्बन्धपछि पर्शुराम तामाङसँग मैले विवाह गरेकी हुँ । अन्तरजातीय भएकाले हामीले परिवारको सहमतिबिना नै विवाह गर्यौं । विवाह गरेपछिको केही दिन उहाँको सानिमाको छोरीकहाँ गएर बस्यौं । विवाहको हल्लाखल्ला शान्त भइसकेपछि मात्रै काठमाडौंस्थित उहाँको डेरामा बस्न थाल्यौं ।
\
 त्यति बेला हनिमुन मनाउन कतै जाने चलन त्यति थिएन । त्यसमाथि हामीलाई सुरुसुरुमा बाहिर हिँड्दा कसैले देख्छ कि भन्ने डर बढी थियो । मैले आफूले मन पराएको प्रेमीलाई जीवनसाथीका रूपमा पाएँ । हामी दुवैले एकअर्कालाई राम्रोसँग बुझेका थियौं । प्रेमी र श्रीमान्मा जिम्मेवारीको हिसाबले फरक हुन्छ । मेरो पनि जिम्मेवारी थपिएको थियो । यस्तो कुरा स्वाभाविक भएकाले दुवैले यसलाई सहज रूपमा संयोजन गर्ने प्रयास गरेका थियौं ।

 दुवै पक्षबाट एकअर्कालाई बुझ्ने प्रयास भयो भने प्रेमविवाह सबभन्दा उत्तम हुन्छ । वास्तवमा श्रीमान्का रूपमा उहाँको भूमिकाले मेरो जीवनलाई गति प्रदान गरेको छ । अन्तरजातीय विवाह भए पनि घरमा उहाँको महत्वपूर्ण भूमिकाकै कारण मैले सधैं माया र सम्मान पाएँ । परिवारमा घुलमिल हुन समस्या भएन । पहिले एकछिन भेट हुने प्रेमी विवाहपछि जीवनभर सँगै हुन्छ । एकछिन भेट्नु र जीवनभर सँगै हुनुमा धेरै अन्तर हुन्छ । 

मनले स्वीकार गरेको मान्छेलाई मात्रै शरीरले पनि स्वीकार गर्छ । शारीरिक सम्बन्धले एकअर्काको माया, विश्वास र आत्मीयतालाई झनै बलियो बनाउँछ । नयाँ जोडीलाई एकअर्कालाई चिन्न, विश्वास बढाउन हनिमुन एकदमै जरुरी छ । तर, हामीले पहिले नै बुझिसकेका थियौं । मागी विवाह गर्नेका लागि यो समयको महत्व अझ हुन्छ ।अहिले त मागी विवाह पनि राम्रोसँग बुझेर, कुरा गरेरमात्र हुने चलन आएको छ । यो राम्रो कुरा हो । तापनि दुवैजनाले राम्रोसँग एकअर्कालाई चिन्न केही समय रमाइलो ठाउँमा जानु राम्रो हुन्छ । 

पहिले विवाह हुनासाथ हनिमुन जान नपाए पनि अहिले कतै जाऊँ भनेर उहाँले सोचेको धेरै भयो । तर बच्चाको पढाइ, घरको काम, गायन करिअरले गर्दा फुर्सद मिल्दैन । जाने समय जुरेकै छैन । मेनुकाको संगीतयात्रा गायन क्षेत्रमा आफ्नै पहिचान बनाएकी छन् गायिका मेनुका राईले । 

‘माया आहारिसे' र ‘१, २, ३' गरी दुई वटा एल्बम बजारमा ल्याइसकेकी उनले हालसम्म लगभग दुई सय गीतमा स्वर दिइसकेकी छन् । उनले गाएका माया आहारिसे, एक दुई तीन, मेरो जिन्दगीमा, विदेशको छाउनीलगायतका गीतलाई श्रोताले निकै रुचाएका छन् । जन्मथलो खोटाङबाट राजधानी आई २०५६ सालमा रेडियो नेपालमा ‘मौरी घुम्छ फूलको बोटैमा' बोलको गीत रेकर्ड गराई उनले सांगीतिक यात्रा आरम्भ गरेकी हुन् । गायिका मेनुका राई अहिले नयाँ एल्बमको तयारीमा जुटेकी छन् ।

0 comments

Write Down Your Responses